‘प्रसाद २’ विवादको चुरोः विपिनको आडम्बर र निर्माताको अंकगणितिय कमजोरी

२ साता कास्कीको ल्वाङमा वर्कशपदेखि गाउँ भ्रमणसम्म सकेपछि निर्देशक सुदर्शन थापाले ‘प्रसाद २’का लागि क्यामेरा अन गर्ने तयारी गरे । तर, क्यामेरा अनको तयारी हुँदै गर्दा नायक विपिन कार्की असहज देखिए । उनले, कहिले घरमा आमालाई भेट्न जानु पर्ने बहाना खोजे भने कहिले स्टोरी बोर्डको माग गरे ।

श्रोतका अनुसार, विपिनको आडम्बर सेटमा प्रष्ट झल्कियो । विपिनको आडम्बर देखेका निर्देशक सुदर्शन थापाले आफू यही तरिकाले काम गर्न नसक्ने बताए । नयाँ निर्माता केशव पाण्डेले पनि कलाकारबाट पाएको यस्तो झन्झटबाट तत्काल काम गर्न नसक्ने सोचमा देखिए । जसकाकारण, यो फिल्मको छायांकन नै नसकी कलाकार र निर्माण टिम आफ्नै तालमा काठमाडौं फर्किएको छ ।

विपिनले विशेषगरि बलिउड फिल्म ‘एनिमल’ साइन गरेपछि उनको घमण्ड बढ्न थालेको फिल्मीकर्मी नै बताउँछन् । विपिनले पारिश्रमिक पनि उच्च माग्न थालेका छन् । फिल्मको सेटमा विपिनले अनेक दुःख दिने गरेको गुनासो फिल्म निर्माताहरु बताउँछन् ।

तर, ‘प्रसाद २’को छायांकन रोकिनुमा विपिन मात्र कारण होइनन् । फिल्मका प्रस्तुतकर्ता सुभाष थापाको हिसाबमा गडबढी पनि मुख्यकारण हो । ‘प्रसाद’ बनाएदेखि नै सुभाषलाई आर्थिक रुपमा स्पष्ट हुन नसेकेको आरोप लाग्दै आएको छ । सामाजिक संजालमा बेलाबखत उनले पैसा नदिएको भन्दै विभिन्न व्यक्तिहरुले स्टाटस नै लेख्दै आएका छन् । फिल्म ‘प्रसाद’का सह–निर्माता प्रबल कोइरालाको उनले १० लाख भन्दा बढी रकम अझै दिएका छैनन् । वितरकसँग पनि उनको हिसाब मिलेको छैन ।

छायांकन सेटमा विपिनले पनि सुभाषसँग पैसाको माग गरिरहेका थिए । सुभाषले हरेक दिन भोली–भोली भन्दै टार्ने गरेका थिए । यसैले, सुभाषको कम्पनीमा फिल्म बनुन्जेल काम नगर्ने मुडमा विपिन पुगेको श्रोतले बतायो । नयाँ निर्माता पाण्डेको कम्पनीले फिल्मको सम्पूर्ण अधिकार नलिएसम्म काम गर्न नसकिने विपिनको वुझाई थियो । ‘प्रसाद २’ रोकिनुमा यो पनि मुख्यकारण रहेको वुझिएको छ ।

यसरी, लामो समयको रस्साकस्सीपछि फिल्मको छायांकन सुरु हुने तरखर त भयो तर रोकिएको छ । अब, ‘प्रसाद २’ बन्छ या बन्दैन भन्ने अन्यौल देखिएको छ । निर्माताले भने कम्पनीको कानुनी प्रक्रिया सबै सकेर काम सुरु गर्ने बताएका छन् ।