बिहेमा नायिकाको गहना र कपडाको चर्चा
केही बर्ष अगाडि डाक्टर उदिप श्रेष्ठसँग बिहे गर्दा नायिका आँचल शर्माको लेहेङ्गा चर्चित बन्यो । आँचलले बिहेमा लगाएको लेहेङ्गाको मुल्य १६ लाख भन्ने खबर बाहिरिसँगै यसको चर्चा चुलियो । आँचललाई बिहेको पार्टीमा हेलिकप्टरबाट ल्याउनदेखि महंगो लेहेङ्गा बनाइदिने कुरामा उदिपले कुनै कसर बाँकी राखेनन् । यसैले, आँचलको बिहे र पार्टीको भन्दा बढी चर्चा उनको लेहेङ्गाको भयो ।
उसो त, कलाकारको बिहे गर्ने तरिकाको उनीहरुको फ्यानले पनि फलोअप गर्छन् । एक अन्तरवार्तामा नायिका रेखा थापाले भनेकी थिइन्–‘यदि मैले धुमधामसँग बिहे गरेँ भने, मलाई फलो गर्ने कुनै गरिब परिवारकी छोरीले मेरो जस्तै बिहे चाहिन् भने के हुन्छ ? यसैले, बिहे आफ्नो तरिकाले गर्ने त हो तर सेलिब्रिटी भैसकेपछि यस्तो कुरामा ख्याल गर्नुपर्छ ।’
आँचलको लेहेङ्गाको चर्चा सेलाउन नपाउँदै अहिले नायिका नीता ढुंगानाको हारको चर्चा चलेको छ । पार्टीमा नीताले लगाएको हार २५ लाखको भएको चर्चा छ । यसले, नीताको पार्टी र अतिथीको भन्दा उनको हारको चर्चा चुलिएको छ ।
हालै एक अन्तरवार्तामा नीताका श्रीमान् हरिहर अधिकारीले आफ्नो क्षमता अनुसार लगाएको बताएका थिए । तर, नायिकाहरुले लेहेङ्गादेखि हारको मुल्यको प्रतिस्पर्धा गर्न थाले भने अरुलाई थबाब थोपरिन सक्छ । अनी, यसले समाजमा पार्ने असर अझै भयानक हुने पक्का छ ।
प्रतिक्रिया