‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता
पहिलो नेपाली फिल्मको आधिकारिकता विवादमा चलचित्र विकास बोर्डले मुख खोलेको छ ।
विसं २०२२ मा प्रदर्शनमा आएको ‘आमा’ र २००६ मा प्रदर्शनमा आएको ‘हरिशचन्द्र’बीच कुन नेपाली फिलम हो भन्ने विषयमा विवाद थियो। चलचित्र विकास बोर्डले ‘आमा’लाई नेपालको पहिलो फिल्मको मान्यता दिएको छ।
बोर्डले पहिलो नेपाली फिल्म कुन हो भन्ने अस्पष्ट विषयमा विसं २०२२ मा प्रदर्शनमा आएको यो फिल्मलाई विकास बोर्डले आफ्नो आधिकारिक वेबसाइटमार्फत पहिलो नेपाली फिल्म भएको आधिकारिता दिएको छ। बोर्डको आधिकारिक वेबसाइटमा आमालाई पहिलो नेपाली फिल्म मानिएको छ ।
डीबी परियारको निर्देशनमा बनेको ‘हरिशचन्द्र’ भारतमा बनेको नेपाली भाषी फिल्म भएकाले यसलाई पहिलो नेपाली फिल्म भन्न नमिल्ने तर्कहरु सधै आउँथे। कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण भएको फिल्म हरिश्चन्द्र नेपालमा नबनेकाले त्यसलाई नेपालीभाषी मात्र भन्नुपर्ने तर्क थियो ।
उक्त विवादलाई लिएर तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयलाई पहिलो नेपाली फिल्मको आधिकारिता माग्दै पत्र पनि लेखेको थियो। तर, यस विषयमा मन्त्रालयले हालसम्म कुनै जवाफ दिएको छैन। तर, विकास बोर्डले भने नेपाली फिल्मको ऐतिहासिकतालाई प्रस्तुत गरेको समय रेखामा पहिलो नेपाली फिल्म ‘आमा’ भएको मान्यता दिएको छ।
नेपालमा छायांकन भएको र प्राविधिक काम भारतमा भएको उक्त फिल्मलाई पहिलो नेपाली फिल्म मानिएको हो। २०२२ मा प्रदर्शनमा आएको यो फिल्मलाई भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए।
फिल्मलाई तत्कालीन पञ्चायती साशनको प्रचारका लागि सरकारको प्रसार विभागले निर्माण गरेको थियो। फिल्ममा भुवन चन्द्र, शिवशंकर मानन्धर, चैत्यदेवी, बसुन्धरा भुसाललगायतका कलाकारको अभिनय रहेको छ।
पहिलोपटक निजी क्षेत्रबाट २०२३ मा माइतीघर फिल्मको निर्माण भएको थियो ।
प्रतिक्रिया