निर्माता थापाले गराए ओपन-हार्ट सर्जरी

निर्माता सुनिलकुमार थापाको ओपन-हार्ट सर्जरी गरिएको छ।

मंगलबार बिहान काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा डा. भगवान कोइरालाको टोलीले निर्माता थापाको ओपन-हार्ट सर्जरी गगरिएको हो ।

निर्माता सुनिलकुमार थापाको मुटुमा प्वाल परेको थियो।  बच्चामा नै उनको मुटुमा प्वाल देखिएको हो। तर ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन्। अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् ।

पिताको मुटुको अपरेशन सफल भएको छोरी तथा अभिनेत्री सुहाना थापाले फेसबुकमार्फत जानकारी दिएकी छन् ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ। समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ! त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन्। डा. भगवान कोइराल र उनका टिमप्रति आभार छु। बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतीक्षा गर्न सक्दिनँ’।

सर्जरीपछि थापालाई आइसियूमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अभिनेत्री तथा निर्देशक झरना थापाका श्रीमान् समेत रहेका थापा दुई दशकदेखि निरन्तर फिल्म निर्माण गर्दै आएका छन् । पछिल्लो समय उनले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ बैशाख १ गते प्रदर्शन भएको थियो। उनी छोरी सुहानालाई लिएर फिल्म ‘भागवद् गीता’ निर्माण गर्दैछन्।