मनीषाले भन्साली र मुमताजसँगको फोटो सेयर गरेपछि…

बलिउड निर्देशक सञ्जयलीला भन्साली फिल्म ‘गंगुबाई कठियावाडी’को सफलतापछि अहिले नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को तयारीमा जुटेका छन् ।

यो सिरिजकालागि आधिकारिक रुपमा कोही पनि कलाकार घोषणा भएको छैन । यस्तैमा अभिनेत्री मनिषा कोइरालालाई लिएर भन्सालीले गत साता सिरिजको मुहूर्त नै गरिसकेका छन् ।

मनिषा कोइरालाले बलिउडकी दिग्गज अभिनेत्री मुमताज र फिल्म निर्माता सञ्जय लीला भन्सालीसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘लिजेन्ड्सहरूको संगतमा, मलाई यस्ता अद्भुत रचनात्मक व्यक्तिहरूसँग बस्न मनपर्छ मेरो अनुहारले यो सबै भन्छ।’

मनिषा कोइरालाले मुमताज र सञ्जय लीला भन्सालीसँग सेयर गरेको पछिल्लो तस्विरले दिग्गज अभिनेत्री मुमताज ‘हीरामण्डी’को हिस्सा भएको बारे फ्यानहरूले अनुमान लगाएका छन्।

यसअघि मुमताजले एक अन्तर्वार्तामा आफूलाई ‘हिरामण्डी’का लागि अप्रोच गरिएको खुलासा गरेकी थिइन् । उनले केही पहिले सञ्जयलीला भन्सालीको कार्यालयबाट फोन आएको तर फिल्म निर्माता नभई उनको सचिवले फोन गरेको बताइन् । अन्तर्वार्तामा बोल्दै मुमताजले भन्सालीले आफूलाई नृत्यको लागि प्रस्ताव गर्ने, तर आफ्ना पतिले त्यसलाई अस्वीकार गर्ने बताएकी थिइन् । पछि मुमताजले ‘हीरामण्डी’मा काम गर्न भन्सालीले राखेको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।

मुमताजलाई मनिषा र भन्सालीसँगको तस्बिरमा देखेपछि, फ्यानहरूले नेटफ्लिक्सको ‘हीरामान्डी’बाट पुनरागमन गर्दैछन् कि भनेर सोचिरहेका छन्। वेब सिरिजमा मनिषाको अभिनय छ । तर, निर्माताले भने मुमताज पनि शोको एक हिस्सा भए नभएको घोषणा गरेका छैनन्। यसअघि आएका खबरअनुसार सिरिजमा माधुरी दीक्षित, अदिती राव हैदारी, ऋचा चड्डा, हुमा कुरेशी र सोनाक्षी सिन्हा पनि हिस्सा हुनेछन् ।

यदि अहिले मुमताजले भन्सालीको प्रस्तावलाई स्वीकारेकी हुन् भने करिब ४५ वर्षपछि मुमताज अभिनयमा फर्कनेछिन् । हीरामण्डी लाहोरको रातो बत्ती क्षेत्र भनेर चिनिन्छ। यो लाहोर को पर्खाल शहर भित्र स्थित छ। यो १५औं र १६ औं शताब्दीदेखि शहरको तवाइफ संस्कृतिको केन्द्र भएको छ। ‘हीरामण्डी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।