खगेन्द्र लामिछानेको जन्मदिनमा ‘पानीफोटो’ ट्रेलर : सशस्त्र द्वन्द्व सम्झाउने अर्को कथा
साउन १३ मा प्रदर्शन हुने घोषणा गरेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ ।
आज मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच लेखक,अभिनेता हुँदै निर्देशक बनेका खगेन्द्र लामिछानेले जन्मोत्सवको अवसर पारेर फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरेका हुन् । ४४ औँ वर्षमा प्रवेश गरेका खगेन्द्रले यो जन्मदिनलाई खास मनाउदै पौने तीन मिनेट लामो ट्रेलरमा सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोजिरहेका बाबुआमाको कथा प्रस्तुत गरेका छन् । ‘पानीफोटो’ खगेन्द्रको निर्देशनमा डेब्यु फिल्म हो ।
आफैँ लिखित नाटकलाई उनले फिल्मको स्वरूप दिएका हुन् । १२ वर्षपहिले गुरुकुलमा मञ्चन भएको नाटकलाई खगेन्द्रले फिल्ममा रुपान्तरण गरेका हुन् । माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्म नाट्य रुपान्तरण हो । खगेन्द्रकै लेखनसँगै निर्देशन पनि रहेको फिल्ममा उनले अभिनय पनि गरेका छन् । नाटकले द्वन्द्वमा बेपत्ता छोराको खोजीमा रहेका बाबु आमाको कथा कथा प्रस्तुत गरेको थियो । जसमा छोरा खोज्ने दम्पतीको भुमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
खगेन्द्रले भने, ‘फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आएका छौँ’। ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने ।
सार्वजनिक ट्रेलरले कथाको यही भावलाई संवाद र दृश्यमार्फत पस्किएको छ । ट्रेलरमा अनुप बराल र मेनुका प्रधानबाहेक प्रकाश घिमिरे, माओत्से गुरुङ, मलिका महत, बुद्धि तामाङ र खगेन्द्र लामिछानेको पनि झलक देख्न सकिन्छ ।
यस्तै फिल्ममा कमलमणि नेपाल, अशान्त शर्मा, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँटी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ ।
फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने सम्पादन रहेको छ निमेष श्रेष्ठको ।
प्रतिक्रिया