मेरो फिल्म फलोअपः जब सुगमले अर्जुनलाई ‘तिम्रो मेरो सम्बन्ध पहिलेको जस्तो रहदैन’ भने…

आइतबार ‘मेरो फिल्म’मा गायक सुगम पोखरेल र संगीतकार अर्जुन पोखरेलको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको थियो । यो समाचार सार्वजनिक भएपछि मेरो फिल्मको सम्पर्कमा आएका संगीतकार अर्जुन पोखरलले एउटा सर्जकको रुपमा सुगमले आफ्नो अपमान गरेको बताएका छन् । सुगम र अर्जुनको सम्बन्ध किन बिग्रियो त ? अर्जुनले मेरो फिल्मलाई दिएको जानकारी, उनकै शब्दमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।

रोयल्टीको विश्वव्यापी होस् या नेपालकै नियम हेर्ने हो भने पनि, यदि कुनै गायकले स्टेजमा मास्टर ट्रायकमा गीत गाउँछ भने निर्माताबाट पहिले अनुमति लिनुपर्छ । निर्माताबाट अनुमति लिएर गीत गाइसकेपछि गीतकार र संगीतकारलाई रोयल्टी दिनुपर्छ । रोयल्टीको बिषयमा गायक आफैले पारिश्रमिबाट दिने वा आयोजकबाट संझौता गर्दा नै माग्ने भन्ने कुरा उनीहरुबिचको कुरा भयो । तर, नेपालमा हामीले अहिलेसम्म गायक–गायिकालाई यो बिषयमा अवरोध गरेका छैनौं । यसैले, गायक–गायिकाले त निर्माता, गीतकार, संगीतकारलाई धन्यवाद दिनुपर्ने हो । सुगम पोखरेल र मेरो बिचमा भएको बिषय पनि यही हो ।

उहाँले आफ्ना हिट नम्बरहरु कभर गर्छु र आफ्नो च्यालनमा हाल्छु भन्नुभयो । मैले हुन्छ पनि भने । जसमा, उहाँले कभर गरेकामध्ये ५–६ वटा गीत मेरो थिएँ । मैले, ती गीतको डिजिटल राइट्स लिएका कम्पनीहरुसँग कुरा पनि गरिदिएँ । मैले, आफ्नो रोयल्टी म्यानेजमेन्टको जिम्मा दिएका कम्पनीहरुबाट आफूले पाउने रोयल्टी लिन्नँ, तर तपाइले कम्पनीलाई दिनुपर्ने कमिसनको प्रतिशत भने दिनुपर्छ भनेको थिएँ । मैले नेपसिने कम्पनीसँग पनि मेरो रोयल्टी व्यवस्थापनको लागि संझौता गरेको छु । यसैले, उहाँले कभर गीत गाएपछि नेपसिनेबाट उहाँलाई मेल गयो ।

उहाँले मेल पाएपछि मलाई फोन गरेर यो बिषय मिलाइदिन आग्रह गर्नुभयो । मैले, उहाँलाई नेपसिनेसँग भएको संझौता अनुसार म मेरो रोयल्टी लिन्नँ । तर, तपाइले नेपसिनेलाई तिर्नुपर्ने कमिसनको केही प्रतिशत तिर्नुपर्छ भने । त्यसपछि, उहाँले मलाई उनीहरु मलाई ठिक लाग्दैनँ । तिमीले कि नेपसिनेसँगको संझौता तोड, कि तिमीसँग मेरो सम्बन्ध पहिलेको जस्तो रहँदैन भनेर म्यासेज गर्नुभयो ।

मेरो गीत त नयाँ पुस्ताका सबै गायक–गायिकाले गाएका छन् । अब, म कसको सम्बन्ध कुन कम्पनीसँग कस्तो छ भनेर सबैसँग सम्बन्ध तोड्दै हिडौं त ? मैले ओएसआरसँग पनि संझौता गर्दैछु । भोली अर्को गायकले आएर मलाई यो कम्पनीसँग पनि सम्बन्ध तोड्नुहोस् भन्यो भने मैले त्यसो गर्नु त ?

मेरो वुझाइमा सुगमजीले एउटा सर्जकलाई हेपेको र उसलाई अपमान गरेको तरिकाले म वुझ्छ् । किनकी, मैले आफ्नो रोयल्टी दिनुपर्दैन भनेपछि त उहाँले मलाई धन्यवाद दिनुपर्ने हो । तर, हाम्रो सम्बन्ध पहिलेको जस्तो रहँदैन भनेर उल्टै मलाई अनफ्रेन्ड गर्नु त मेरो अपमान होइन र ?

म यो बिषयमा रोयल्टीको बिषयमा वुझेको ३ जना व्यक्ति र सुगम पोखरेलसँग बसेर जहाँ पनि बहस गर्न तयार छु ।

म अर्को कुरा के पनि आम गायक–गायिकाहरुसँग अनुरोध गर्न चाहन्छु भने, रोयल्टीको विधानले कुनै पनि गीत सार्वजनिक रुपमा गाउँदा निर्माता, गीतकार, संगीतकार र गायकको रोयल्टीको बिषयमा आयोजकसँग स्पष्टसँग संझौता गर्न आवश्यक छ । यो बिषयमा हामी केही संगीतकार बसेर सल्लाहा समेत गरिसकेका छौं । यसैले, सबै गायक–गायिकाले यो बिषयलाई गम्भिर रुपमा लिइदिनुहोला ।

किन बिग्रियो अर्जुन र सुगमको सम्बन्ध ?