कलाकारलाई अतिथी बनाएर खुइल्याउँदै ‘कमेडी शो’
केही दिन अगाडि कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुगेकी नायिका पूजा शर्माले आफ्नो बारेमा कमेडियनहरुले खासै जानकारी नराखेको भन्दै असन्तुष्टी जनाइन् । हरेक पटक एउटै कुरा निकालेर कलाकारको मजाक बनाइने गरेको उनको गुनासो थियो ।
दोश्रो सिजनको ‘कमेडी च्याम्पियन’मा पुगेका नायक पुष्प खड्काले आफूमाथि गरिएको व्यङ्ग्यलाई सहज रुपमा लिएनन् । नायक पल शाहसँग पुगेका उनलाई प्रतिस्पर्धीले ‘उहाँ को हो रे’ भनेर मजाक गरे ।
केही हप्तादेखि संचालनमा आएको विक्की अग्रवालको ‘आम्मा कसम यहाँ दुख्छ’ नामक कमेडी शोमा एकजना चर्चित हाँस्य कलाकारलाई निम्ता गरिएको थियो । तर, उनी उक्त शोको फर्माट हेरेर जान मानेनन् । कारण, कलाकारलाई बोलाएर उसलाई मनपरि भनेर मजाक उडाउने काम यो शोमा गरिन्छ ।
नेपाली टेलिभिजनमा कमेडी शोको बाढी नै आएको छ । विज्ञापनदाताले पनि कमेडी शोमा पैसा खन्याउन थालेपछि निर्माताहरु यसमा लगानी गर्न लालयित छन् । तर, यस्ता शोहरुको स्तर बृद्धि भने दयनिय नै छ ।
भारतीय टेलिभिजनबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’बाट प्रभावित भएका यस्ता कमेडी शोहरुले कपिलको जस्तो सभ्य कमेडी भने सिक्न सकेनन् । सधै, नेतादेखि कलाकारको नै मजाक गर्नुपर्छ भन्ने भ्रमबाट शोमा सहभागी हुनेहरु मुक्त पनि हुन सकेनन् ।
शोमा सहभागी हुन जाने कलाकारको व्यक्तिगतदेखि व्यवसायिक जीवनमा मजाक गरेर यस्ता शोहरु निर्माण भैरहेका छन् । जसलेगर्दा, दर्शकलाई कलाकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन आउन थालेको छ ।
शोमा आफ्नो फिल्मको प्रचार गर्न पुग्ने कलाकारहरु आफ्नो मजाक बनाइएकोमा तितो अनुभव लिएर फर्किने गरेको गुनासो गर्छन् । शोमा पुग्ने कलाकारहरुले मुख खोलेर मिडियामा यस्ता बिषयमा बोलेका छैनन् । तर, अनौपचारिक कुराकानीका क्रममा उनीहरु शोमा पुगेर झनै आफूहरुलाई वेफाइदा हुन थालेको तर्क गर्छन् ।
कपिल शर्माको शोलाई नै हेरौं । बलिउडदेखि साउथका सबैजसो कलाकारको फिल्म प्रचार गर्ने पहिलो रोजाई भएको छ, यो शो । यहाँ पुग्ने कलाकारलाई शोका कमेडियनहरुले निक्कै नै इज्जत दिन्छन् । बरु, उनीहरु आ–आफ्नै मजाक गर्छन् । तर, शोमा कलाकारहरुलाई उनीहरुले दिने इज्जत साच्चिकै लोभलाग्दो छ । तर, ठ्याक्कै उल्टो नेपाली कमेडी शोमा छ । शोमा फिल्मको प्रचारका लागि पुगेका कलाकारहरुको व्यक्तिगतदेखि व्यवसायिक जीवनमा आधा जानकारी राखेर कमेडियनहरुले कमेडी गर्ने गरेका छन् । यसबाट शोमा पुगेर फर्किएकाहरुमा फिल्म प्रमोशन गरेको खुशी भन्दा असन्तुष्टी बढी आउन थालेको छ ।
विक्कीले सुरु गरेको शोमा त धेरै कलाकार जान नै मान्दैनन् । कारण, उनले शो चलाएर भ्यूज त बटुलेका होलान् तर कलाकारको लागि उनको शोले कुनै फाइदा दिने छनक देखाएको छैन ।
कमेडीको आफ्नै तह हुन्छ । सधै, अरुको क्यारिकेचर र मजाक मात्र पनि कमेडी होइन । समाजका अनेक बिषयलाई रमाइलो तरिकाले प्रस्तुत गर्न सकियो र दर्शकले आफूले दैनिक भोग्ने गरेका बिषयलाई स्थान दिन सकियो भने कमेडी शोहरु घर–घरमा लोकप्रिय हुन सक्नेछन् ।
प्रतिक्रिया