‘पछ्यौरी’ कपी गरेको होइन, त्यो एउटा स्टाइल होः इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले करिब २ साता अगाडि सार्वजनिक गरेको ‘पछ्यौरी’ बोलको गीत चर्चासँगै बिबादमा परेको छ । गायिकाले सार्वजनिक गरेको गीत एक अमेरिकी गायकको गीतबाट चोरिएको भन्दै मिडिया र सामाजिक संजालमा आलोचना पनि भैरहेको छ ।

गीत चोरीको आरोप लागेपछि मेरो फिल्मको सम्पर्कमा आएकी गायिका जोशीले यो कपी नगरिएको बताइन् । सन् २०१३ मा सार्वजनिक भएको अमेरिकी गायक जेसन डेरुलोको ‘टक डर्टी’ गीतबाट कपी गरिएको आरोप लागेपछि इन्दिराले यस बिषयमा स्पष्ट पारेकी छिन् ।

गायिकाले भनिन्–‘यो हामीले अलिकती वुझ्न सकेनौ जस्तो लाग्छ । यो मिल्न गएको नै होइन । यसमा प्रयोग गरिएको टोन विश्वव्यापी रुपमा स्टाइल बनेको छ । १०–१२ बर्ष अगाडि नै यो टोन अंग्रेजी गीतहरुमा प्रयोग गरिएको हो । पछि, यो स्टाइल बन्यो र कैयौ गायक–गायिकाले आफ्नो गीतमा प्रयोग गरेका छन् । पप भनेको पपुलर को छोटो रुप हो । पपुलर भएपछि नै कुनै गीत स्टाइल बन्छ ।’

इन्दिराले जेसनको गीत आफूले सुनेपनि कपी नगरेको बताइन् । उनले, यही कुरा विदेशमा फलो गर्दा स्टाइल हुने तर नेपाली गायक–गायिकाले फलो गर्दा चोरीको आरोप लाग्ने भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले भनिन्–‘यो पपुलर कल्चर भित्र पर्छ । छिटो छिटो मानिसहरुले मन पराउने भएरै यसलाई पपुलर भनिएको हो । यसको टेक्चर मिल्न गएको छ । तर, जेसनको गीतमा ट्रम्प पेट प्रयोग गरिएको छ भने मेरो गीतमा सेक्सोफोन प्रयोग गरिएको छ । नोट, बाजा नै फरक छ । तर, स्टाइल भने एउटै हो ।’

इन्दिराले यसपटक आफूले केही फरक गर्ने सोच राख्दा चोरीको आरोप लागेको भन्दै ‘पछ्यौरी’ कुनै पनि गीतबाट नचोरिएको दाबी गरिन् ।