संकटमा माग्ने बुढाको ‘कमेडी हब’
एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको ‘कमेडी हब’ नामक शो सार्वजनिक हुनु भन्दा अगाडि जती चर्चामा थियो, सार्वजनिक भएपछि धेरैलाई निराश बनायो । हाँस्य कलाकारितामा छुट्टै स्थान बनाएका केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा मिडिया हबले महंगो लगानी गरेर यो शो तयार पारेको हो ।
तर, शो बजारमा आएसँगै यसको चर्चा परिचर्चा खासै छैन । टीभीको टिआरपीदेखि युट्युबको भ्यूजमा समेत संकट । यसले, शोको बिषयमा सार्वजनिक भएको केही हप्तामै निर्माता कम्पनी मिडिया हब गम्भिर समीक्षामा जुटेको श्रोतले बताएको छ ।
श्रोतका अनुसार, यो शोका धेरै कुराहरु परिवर्तन गर्नुपर्ने निष्कर्षमा मिडिया हब पुगेको छ । एउटा शो तयार पार्न नै १० लाख भन्दा बढी लगानी भएपनि त्यस अनुसार नतिजा नआएपछि मिडिया हब गम्भिर समीक्षामा लागेको हो ।
आखिर, आम दर्शकले अपेक्षा गरेको यो शो किन खरो रुपमा उत्रन सकेन त ? श्रोत भन्छ–‘शोमा भद्रगोल छ । धेरै कलाकार हुँदा कसलाई के भूमिका दिने भन्नेमा अन्यौल छ । साथमा, निर्देशक केदार र अन्य टिमविच कुरा मिलेको छैन ।’
५० लाख भन्दा बढी लगानी गरेर तयार पारेको भव्य सेटमा केदार पहिलो भागमा ‘माग्ने’कै भूमिकामा देखा परे । फोहोरबाट निस्किएको माग्नेको भूमिकामा उनी देखिदा दर्शकले रुचाएनन् । यो शोका अन्य कलाकारहरु केदारको इन्ट्री भव्य गर्नुपर्ने सोचमा थिए । तर, केदारले उनीहरुको कुरा सुनेनन् । यसले, शो नै संकटमा परेको वुझिएको छ ।
उसो त, बजारमा शो बन्द हुन सक्ने हल्ला चलेपनि त्यसो नहुने शो निकट एक व्यक्तिले मेरो फिल्मलाई जानकारी दिए । तर, सुरुवातका केही भागमा माथि उठ्न नसकेको शोलाई अब बलियो भ्यूज कमाएर माथि उठाउन मुश्किल हुने देखिन्छ । बजारमा केदार नै परिवर्तन हुन सक्ने चर्चा समेत छ । तर, यस बिषयमा निर्माण कम्पनी मिडिया हबले कुनै प्रतिक्रिया दिएको छैन ।
तर, भव्यताका साथ सफल हुने अपेक्षा सहित ३ दर्जन बढी कलाकारको उपस्थितीमा केदार घिमिरेको महत्वकांक्षी प्रोजेक्ट सुरुवातमै असफल हुने बाटोमा लागेको छ । यसले, मिडिया हब र यसको टिमलाई नै गम्भिर संकटमा पारेको भने पक्का हो ।
प्रतिक्रिया