के विकास बोर्डमा भूवन केसीको संभावना प्रबल बनेको हो ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा को नियुक्त होलान् भन्ने कौतुहलता आम फिल्मीकर्मी र मिडियाकर्मीलाई छ । नेपाली फिल्म क्षेत्रको विकास र विस्तारका लागि काम गर्ने मानिस बोर्डमा आएको खण्डमा फिल्म क्षेत्रलाई पनि केही फाइदा होला कि भन्ने अपेक्षा धेरै फिल्मीकर्मीको छ । तर, विकास बोर्डमा पुग्ने अधिकांश अध्यक्षहरुले अपेक्षा गरे अनुसारको काम नगरेको चर्चा भैरहन्छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि विकास बोर्डको अध्यक्षका लागि १० जना फिल्मीकर्मीले आवेदन दिइसकेका छन् । योसँगै अब मन्त्रीपरिषद्ले चाडै नै बोर्डमा अध्यक्ष नियुक्त गर्नेछ । विकास बोर्डको अध्यक्ष पदमा नायक भूवन केसीको संभावना प्रबल बनेको श्रोत बताउँछ । फिल्मीकर्मीहरु पनि बोर्डमा भूवन केसी आउने अड्कल काटिरहेका छन् ।

तर, बोर्ड अध्यक्षका प्रमुख दाबेदार भूवन केसी भने अहिले नै सरकारले कसलाई नियुक्त गर्छ भन्न नसकिने बताउँछन् । उनले भने–‘मैले पहिलेदेखि नै भन्दै आएको कुरा के हो भने, बोर्डमा सरकारले मलाई योग्य ठानेर पठाउँछ भने म काम गर्न तयार छु । किनकी, फिल्म क्षेत्रमा यति लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएकाले म यो क्षेत्रको हितका लागि नै काम गर्नेछु ।’

बोेर्डका लागि सुशिल पोखरेल, भूवन केसी, मनिष पण्डित, सुष्मा कार्की लगायतको नाम अग्रस्थानमा रहेको खबर हामीले सार्वजनिक गर्दै आएका छौं । तर, अब भने भूवन केसी बोर्ड अध्यक्ष बन्नेमा अन्य उम्मेदवारहरु पनि विश्वस्त हुन थालेका छन् ।

भूवनले बोर्ड अध्यक्ष बन्नका लागि प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका नेता इन्द्र बाँनिया, प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु देउवासँगै सोझै प्रधानमन्त्री देउवासँग पनि लबिङ गर्दै आएका छन् ।