सुशिल पोखरेलको प्रवेशपछि बदलिएको बोर्ड अध्यक्षको माहोल

चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि लबिङ तिब्र छ । सरकारले दिएको आवेदनको समयसिमा सकिएको छ । समय सिमा भित्र १० जनाले आवेदन दिएका छन् । आवेदन दिएका सबै फिल्मीकर्मी आफू नै बोर्डको अध्यक्ष बन्ने पक्का भएको भन्दै दौडधुप गरिरहेका छन् ।

बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिदा, कुनै पनि पार्टीमा आवद्ध भएको छैन भनेर वाचा गर्नुपर्छ । तर, सरकारले आफ्नो पार्टी समर्थित व्यक्ति बाहेक अरुलाई बोर्ड अध्यक्ष नै बनाउँदैन । यसर्थ, सरकारको आवेदनको औचित्य नै खासै छैन भन्दा हुन्छ ।

बोर्ड अध्यक्ष बन्नका लागि नायक भूवन केसीदेखि निर्माता सुशिल पोखरेल, निर्देशक संझना रौनियार, फिल्मकर्मी सुष्मा कार्की, मनिष पण्डित, राजेन्द्र उप्रेती लगायत चर्को लबिङमा छन् ।

तर, निर्माता सुशिल पोखरेलले आवेदन दिएसँगै बोर्ड अध्यक्षको माहोल नै फेरिएको वुझिएको छ । मेरो फिल्मसँग कुरा गर्दै सुशिशले आफूलाई एमाले समर्थित नभन्न आग्रह गरे । उनले भने–‘मैले स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार नै नभएपछि एमालेको उम्मेदवारलाई समर्थन गरेको हुँ । यो कुरा मैले माथिल्लो तहमा पनि भनेको छु ।’

सुशिलले आफू स्वतन्त्र नागरिक भएको हैसियतले सरकारले दिएको मापदण्ड पुरा गरेर आवेदन दिएको बताए ।

श्रोतका अनुसार, सुशिलको आवेदनपछि बोर्ड अध्यक्षको माहोल फेरिएको छ । उनी पनि बोर्ड अध्यक्षको प्रबल दावेदारको रुपमा देखिएका छन् । नायक भूवन केसीको संभावना पनि प्रबल छ । यी बाहेक, मनिष पण्डितको चर्चा पनि खुबै छ । तर, सरकारले बोर्ड अध्यक्ष कसलाई बनाउँछ, यसका लागि केही दिन कुर्नै पर्छ ।