कार्तिक ४ मा दया र विपिनको ‘के घर के डेरा’ रिलिज हुने

केही दिन अगाडि मात्र छायांकन सकिएको फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । उसो त, केही दिन अगाडि नै मेरो फिल्मले यो फिल्म तिहारमा आउन लागेको खबर सार्वजनिक गरेको थियो । आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै यो फिल्मको टिमले कार्तिक ४ गते फिल्म रिलिज हुने पक्का भएको जानकारी दिएको छ ।

यो मितिमा निर्मात्री शर्मिला पाण्डेको फिल्म ‘परस्त्री’ पनि रिलिज हुने तय भएको थियो । तर, शर्मिलाले अब यो फिल्मलाई फागुणको १९ गते रिलिज गर्ने भएकी छिन् । उनले आफ्नो जेठा छोरा दीपेन्द्र के खनालको फिल्म ‘के घर के डेरा’का लागि कान्छो छोरा सुरज पाण्डेको ‘परस्त्री’लाई पछि सारेको बताइन् ।

युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ । फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, दिर्घ गुरुङको छायांकन छ । तिहारमा फिल्म ‘२ नम्बरी र नालापानी’ पनि रिलिज हुने पक्का भैसकेको छ ।