बालेनलाई करिश्माको सुझाव–‘कोही लाचार छ भन्दैमा उमाथि दमन गर्न पाइदैन’
केही दिन अगाडि महानगरका कर्मचारीहरुले मकै पोल्दै गरेका एक दम्पत्तीमाथि लछारपछार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडियोले चर्को आलोचना भैरहेको छ । महानगरको व्यवहारले कोही व्यक्तिको रोजीरोटी नै खोसिएको भन्दै आलोचना हुँदा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई यसको जवाफ दिन समस्या भैरहेको छ । यही समयमा नायिका करिश्मा मानन्धरले पनि यो बिषयमा चर्को प्रश्न गरेकी छिन् ।
करिश्माले हरेक मानिसको बाँच्ने अधिकारको उच्च सम्मान गर्न पनि आग्रह गरेकी छिन् । करिश्मा लेख्छिन्–‘महानगर सफा हुनुपर्छ, सहि हो । हामीले आफ्नो करोडौं पर्ने जग्गा र घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गरेको सहि हो । बाटोमा हिड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन, त्यो पनि सही हो । तर, गाउँ छाडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु भन्ने प्रश्न मुख्य हो ।’
करिश्माले कुनै व्यक्ति देशको नागरिक भएपछि र मतदाता भएको नाताले उसले हरेक देशको भुमीमा टेक्ने अधिकार पाउने पनि बताएकी छिन् । करिश्मा अगाडि लेख्छिन्–‘तपाइहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउन र लागू गर भनेर मात्र होइन । हरेक लागू गरेका नियमहरुको परिणम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । पर्यटकहरुले समेत यसको आनन्द उठाइरहेका हुन्छन् । व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध गर्न तर्फ लाग्ने ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ करिश्माले गाउँमा नै सबै कुराको सुविधा भैदिएको भए कोही पनि व्यक्ति शहर नछिर्ने भन्दै अगाडि लेखेकी छिन्–‘ठिक छ, यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही पनि छैन । तर, अहिले हेर्दा यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।’
प्रतिक्रिया