मेरो अभिनय नरहने फिल्ममा अब लगानी गर्दिनँः सन्तोष अधिकारी
निर्माता तथा कलाकार सन्तोष अधिकारीलाई फिल्ममा अभिनय गर्ने चाहना बच्चैदेखि थियो । उनले आज भन्दा २ दशक अगाडि एउटा म्युजिक भिडियोमा पनि काम गरे । तर, कलाकारितामा रहर हुँदाहुँदै उनी अष्ट्रेलिया हानिनु पर्यो । सन् २०१६ मा अष्ट्रेलियाबाट फर्किदा पनि उनमा कलाकारिताको रुची मरेको थिएन । तर, सन्तोष भन्छन्–‘मैले चाहेको भए सोही समयमा नै आफै लगानी गरेर नायक बन्थेँ होला । तर, म आफू एक्लै हिड्न चाहन्नँ । सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने सोचले मैले सो समयमा नायक बन्ने योजना अगाडि बढाइनँ ।’
सन्तोषले नेपाली फिल्म ‘घर र आमा’मा सह–निर्माताको रुपमा लगानी गरेका छन् । २ फिल्ममा सह–निर्माता भएका उनले अब आफ्नै नाममा सन्तोष अधिकारी फिल्मस् स्थापना गरेर फिल्म निर्माण र अभिनयलाई अगाडि बढाउने तयारी गरेका छन् । उनले बनाउन लागेको नयाँ फिल्मको नाम ‘डलर एयूडी’ राखिएको छ । यो फिल्ममा सन्तोष आफैले लगानी गर्दैछन् ।
सन्तोष भन्छन्–‘मलाई धेरैले फिल्ममा लगानीका लागि कुरा गर्नुहुन्छ । तर, अब म आफूले अभिनय नगर्ने फिल्ममा लगानी गर्दिनँ ।’ सन्तोषले आधा दर्जन म्यूजिक भिडियोमा काम गरिसकेका छन् । तर, उनलाई ‘म नेपालह हुँ’ बोलको म्युजिक भिडियो अझ विशेष लाग्छ ।
एसएपी इन्टरटेन्मेन्ट र सन्तोष अधिकारी फिल्मस्को ब्यानरबाट आफूले निरन्तर फिल्म बनाउने उनले बताए । अष्ट्रेलियामा फिल्म प्रदर्शन मात्र होइन, विभिन्न फेशन शोको समेत उनले आयोजना गर्दै आएका छन् ।
सन्तोष भन्छन्–‘बिबाहित भएकाले पनि परिवारलाई पनि समय दिनुपर्छ । नेपाली कला क्षेत्रमा पनि केही गर्ने योजना छु । म अब फिल्ममा आएपछि निरन्तर आउँछु । अहिलेसम्म विविध कारणले पर्दा पछाडि नै रहनु पर्यो ।’ ‘डलर यूएडी’ अष्ट्रेलियामा नै छायांकन हुने भएकाले आफूलाई काम गर्न पनि सहज हुने उनको भनाई छ । यसैले, फिल्ममा काम पनि गर्ने तयारी आफूले गरेको अधिकारीले बताए ।
नेपाली फिल्म क्षेत्रमा विदेशमा रहेर पनि निरन्तर काम गर्ने व्यक्तिहरु थुप्रै छन् । यही भिडमा सन्तोष अधिकारी आफ्नो अलग्गै पहिचान बनाउने दौडमा छन् । सन्तोषको आज जन्मदिन पनि हो । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया