बोर्ड अध्यक्षका लागि कोही राजनीतिक लबिङमा, कोही करोड बोकेर दौडदै

चलचित्र विकास बोर्डका लागि नेपाल सरकारले खुलाएको आवेदनमा निवेदन दिने आज अन्तिम दिन हो । अहिलेसम्म आधा दर्जन फिल्मीकर्मीले बोर्ड अध्यक्ष बन्न आवेदन दिएका छन् । नायक भूवन केसीदेखि निर्देशक संझना रौनियारसम्मले आवेदन दिएका छन् ।

नायक भुवन केसी, निर्देशक संझना रौनियार उप्रेती, फिल्मीकर्मी अरुणकुमार प्रधान, निर्माता सुशिल पोखरेल, कलाकार सुष्मा कार्की र फिल्मीकर्मी मनिष पण्डितले आवेदन दिएका छन् । नायक भुवन केसीको उमेर वाधक बनेको खबर संचारमाध्यममा आएपनि उनले यसलाई गलत भनेका छन् । भुवनले आफू बल्ल ६२ बर्ष पुगेको बताउँदै सबै तरिकाले आफू फिट रहेको सुनाए ।

श्रोतका अनुसार, आवेदन दिएकामध्ये केही राजनीतिक लबिङलाई तिव्र बनाइरहेका छन् । यस्तै, केही व्यक्ति भने पैसाको बिटो बोकेर बोर्ड अध्यक्षका लागि दौडधुप गरिरहेको समेत सुनिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि पैसाको पनि ठूलै चलखेल हुने गरेको छ । यसअगाडि बोेर्ड अध्यक्ष बनेकामध्ये केही फिल्मीकर्मीले ठूलै पैसाको चलखेल गरेकोदेखि मन्त्रीको घर बनाइदिएको सम्म चर्चा थियो ।

श्रोतका अनुसार, मनिष पण्डित, भूवन केसी र सुष्मा कार्की बोर्ड अध्यक्षको लाइनको लबिङमा सबैभन्दा अग्रस्थानमा छन् । नेपाली कांग्रेस निकट फिल्मीकर्मीका साथ नेकपा एमाले निकट निर्माता सुशिल पोखरेलले यसपटक आवेदन दिएका छन् । आज पनि केही फिल्मीकर्मी बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिने तयारीमा छन् ।

सरकारले आवेदन खुलाएपनि अन्त्यमा आफू निकट फिल्मीकर्मीलाई नै बोर्ड अध्यक्ष बनाउने गरेको छ । यसैले, बोर्डको अध्यक्ष बन्नका लागि विभिन्न योग्यता तोकेर आवेदन खुलाइनु सरकारको देखावटी मात्र हो भन्ने कुरामा दुइमत छैन ।