‘प्रकाश’को दोस्रो गीत सार्वजनिक, प्रदिप र रेणुको प्रेममा वर्गिय विभेद तगारो

फिल्म ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक गरिएको छ ।

बर्गिय विभेदको मुद्धालाई उठान गरेको फिल्म ‘प्रकाश’को बिहिबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

जुम्म्लाको परिवेशमा छायाँकन भएको फिल्मको गीतले मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरिएको छ । प्रदिप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।

फिल्मले बर्गिय विभेदको विषय प्रस्तुत गरेको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गिय विभेदकै विषय उठान गरेको बुझ्न सकिन्छ । फिल्मका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले बर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

देशमा ठुला-ठुला क्रान्ती र परिवर्तनहरु भएपनि समाजमा वर्गिय विभेद कायमै रहेको वर्तामान अवस्थालाई गीतले दुई पात्र बिचको प्रेमका मार्फत टपक्कै टिपेर प्रस्तुत गरेको छ । गीतको बिचमा सम्बाद मार्फत वर्गिय विभेदका कारण युवतिको परिवार समेत उनीहरुको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । युवतिको बुबाले बोलेको ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सिप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’ सम्बादले समाजका विभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गिय असमानताको असर कायम रहेको गीतले देखाएको छ । समाजमा जातिय भन्दा पनि वर्गिय विभेदको जरो कुन हदसम्म गडेर रहेको छ भन्ने स्पष्ट पार्छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।