२ महिनामा जनयुद्धको पृष्ठभूमिका ३ फिल्म
विजय ‘आवाज’
तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध सकिएको पनि १६ बर्ष भैसकेको छ । जनयुद्ध सकिएपछि केही निर्माताले यसको कथामा फिल्म बनाउने कोशिश गरे । कसैले जनयुद्धको तारिफमा फिल्म बनाए त कसैले विपक्षमा । कतिपय निर्माता भने तटस्थ बस्ने कोशिश गरे ।
तर, जनयुद्ध सकिएको १६ बर्षपछि पनि नेपाली निर्माताले यसको कथा भन्न छाडेका छैनन् । जसलाई दर्शकले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी छ ।
असारको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दोख’ जनयुद्धकै पृष्ठभूमिमा रहेर निर्माण भएको फिल्म हो । निर्देशक अनुप बराल भन्छन्–‘कुनै पनि घटना भएपछि त्यसको असर लामो समयसम्म पर्छ । त्यसले छाडेका घाउका खाटाहरु लामो समयसम्म निको हुँदैनन् । जनयुद्धका कारण भएका असरको कथा अझै पनि भन्न बाँकी छ ।’
साउनकोे १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पानी फोटो’ले पनि जनयुद्धकै कथा भन्छ । जनयुद्धका हराएको छोराको पर्खाइमा बसेका बाबु–आमाको कथालाई निर्देशक खगेन्द्र लामिछानेले फिल्ममा देखाएका छन् ।
भदौको १० गतेबाट अर्को फिल्म रिलिज हुँदैछ, ‘प्रकाश’ । यो फिल्म पनि जनयुद्धकै पृष्ठभूमिमा बनेको फिल्म हो । जनयुद्ध लडेको बाबुको एक छोराले सरकारी स्कुलको शिक्षक बन्नका लागि गरेको संघर्षको कथामा यो फिल्म बनेको छ । फिल्मलाई लिएर यसका निर्देशक दिनेश राउत उत्साहित छन् ।
२ साता अगाडि मात्र निर्देशक दीप्ेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘चिसो मान्छे’ रिलिज भयो । यो फिल्मले लकडाउनको अवस्था चित्रण गरेको थियो ।
नेपालमा अर्गानिक कथामा फिल्म बनाउन निर्देशकहरु उत्साहित छन् । जसलाई दर्शकले रुचाएका पनि छन् । तर, जनयुद्धको कथामा दर्शकलाई जोड्न निर्देशक कत्तीको सक्षम हुन्छन्, त्यो ३ फिल्म रिलिजपछि थाहा हुनेछ ।
प्रतिक्रिया