भिक्टोरिया क्रस विजेता कुलवीर थापाको वास्तविक कथामा आधारित ‘गोर्खाः विनिथ द ब्रेभरी’ को ट्रेलर

भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक भएको छ ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीरको वास्तविक कथामा भएर सोमवार सार्वजनिक ट्रेलरमा जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । फिल्मको अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ हो । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

इंग्ल्याण्ड र बेलायतमा छायांकन भएको फिल्म प्रदीप शाहीको निर्देशनमा तयार भएको हो। २५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा यो फिल्म बनेको हो ।

फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । बेलायतमा बसेर लामो समयदेखि फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ हुनेछ । नेपालमा फिल्मलाई आरआर फिल्मस् (रोहित-रत्न) ले वितरण गर्नेछ ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको जानकारी दिएका छन् । त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित फिल्ममा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन् ।

फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।