संचिता–निखिल पुत्रलाई ‘नाई नभन्नु ल ६’को अफर
फिल्म ‘नाई नभन्नु ल ३’मा नायिका संचिता लुइटेलले अभिनय गरेकी थिइन् । तर, फिल्मको प्रचारमा असन्तुष्टी जनाएकी संचिता प्रिमियरमा पनि देखिइनन् । उक्त समयदेखि नै निर्देशक विकासराज आचार्य र संचिताविचको सम्बन्ध विग्रिएको चर्चा भयो ।
यसपछि, संचिता यो हिट फिल्मको सिरिजमा देखिएकी छैनन् । तर, अब निर्देशक विकासराज आचार्यले नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलका छोरा अथर्व उप्रेतीलाई ‘नाई नभन्नु ल ६’का लागि प्रस्ताव गरेका छन् । फिल्म उनले साइन भने गरिसकेका छैनन् ।
विकासले अथर्वसँग पनि केही दिनमा संझौता हुने बताएका छन् । फिल्ममा टिकटकमा चर्चामा रहेकी बालिका एभेलिना खड्कासँग भने संझौता गरिसकेका छन् ।
फिल्ममा ५ जना बाल–कलाकारको आवश्यकता पर्छ । अथर्वलाई फिल्ममा खेलाएर विकास बाल मनोविज्ञानमा आधारित फिल्मलाई नयाँ चर्चा दिन चाहन्छन् । फिल्मको अघिल्ला ५ सिरिजमा बाल–कलाकारको रुपमा देखिदै आएका अनुभव रेग्मी ठूलो भएपछि विकासले उनको विकल्पमा अथर्वलाई रोजेका हुन् ।
फिल्ममा नायिका आँचल शर्मा र नव–कलाकार आर्शिवाद क्षेत्री फाइनल भैसकेका छन् । फिल्मको छायांकन दशैंपछि गर्ने र नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी विकासको छ । सामिप्यराज तिमिल्सिनासँग मिलेर विकासले यो फिल्म लेखिरहेका छन् ।
प्रतिक्रिया