‘प्रसाद २’मा सुदर्शनको प्रवेशपछि बाहिरिए निश्चल

फिल्म ‘प्रसाद २’को टिम हेरफेर भैरहेको छ । फिल्मको छायांकन सुरु हुन निक्कै सकस भैरहेको छ । निर्माता सुभाष थापाले सौरभ चौधरीलाई निर्देशनको जिम्मा दिएर फिल्मको छायांकन गर्ने तयारी गरेका थिए । तर, अहिले फिल्मका लागि निर्देशक समेत फेरिएका छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने पक्का भैसकेको छ । यतिबेला सुदर्शन र लेखक सुशिल पौडेल कथालाई अन्तिम रुप दिन लागिपरेका छन् ।

यसैविच, फिल्मका मुख्य कलाकार निश्चल बस्नेत पनि यो टिमबाट बाहिरिएका छन् । निश्चल फिल्ममा अब नरहेको निर्देशक सुदर्शन थापाले पुष्टी गरे ।

फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ भने रहनेछन् । फिल्मका लागि अर्का एक अभिनेता फाइनल गरिएको श्रोतले बतायो ।

मुख्य कलाकार विपिन कार्की करिब २ महिनाका लागि बलिउड फिल्म ‘एनिमल’को छायांकनका लागि मुम्बई जाँदैछन् । यो फिल्म सकेर विपिन फर्किएपछि मात्र ‘प्रसाद २’को छायांकन सुरु हुनेछ । निश्चल फिल्मबाट किन बाहिरिए खुलेको छैन । तर, सुदर्शनले निर्देशनको जिम्मा सम्हालेपछि निश्चल फिल्ममा नहुनुलाई अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ ।