कमेडी शोको बाढी, तर छैन नयाँ बिषयवस्तु
फिल्म ‘संझना विर्सना’को प्रचारका लागि ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुगेकी नायिका पूजा शर्मा आफ्नो बारेमा गरिएको मजाकमा खासै रमाउन सकिनन् । उनी, रमाउन नसक्नुको मुख्यकारण थियो पुरानै बिषय । कमेडी शोमा कमेडी गर्ने कलाकारहरुले आफ्नो बारेमा नयाँ कुरा नै ल्याउन नसकेको र सबै मिडियामा सार्वजनिक भैसकेको बिषयमा नै कमेडी गरेको भन्दै पूजाले असन्तुष्टी जनाइन् ।
पूजाको मात्र होइन, यस्तो असन्तुष्टी कमेडी शोलाई लिएर आम दर्शकमा पनि छ । किनभने, पछिल्लो केही महिनादेखि यदि नेपालमा सबैभन्दा धेरै रियालिटी शो आएका छन् भने त्यो कमेडीको नै हो । कमेडी शो ल्याएर कुन बिषय प्रस्तुत गर्ने र समाजलाई के सन्देश दिने भन्दा पनि नेतादेखि कलाकारको मजाक गर्नेमै सिमित छन् कमेडियनहरु ।
‘कमेडी च्याम्पियन–१’ सुपरहिट भएपछि नेपालमा कमेडी शो तयार पार्ने होड चलिरहेको छ । तर, विशाल भण्डारी निर्देशित यही शोको दोश्रो श्रृङ्खला सफल हुन सकेन । उनै, विशालले निर्देशन गरेर हाल प्रशारण भैरहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ औषत रुपमा चर्चामा छ । अधिकांश कमेडियनको बिषयमा नयाँपन नआउँदा दर्शकले रुची देखाएका छैनन् ।
एपी वान टीभीमा हाँस्य कलाकार केदार घिमिरेको निर्देशनमा ‘कमेडी क्लब’ सार्वजनिक भैरहेको छ । तर, यो शोप्रति आम दर्शकको अपेक्षा जति शो आउनु अगाडि थियो, आएपछि खासै देखिएन । पुरानै बिषयवस्तु, नेताकै क्यारिकेचर, घोचपेच आदिका कारण बर्षमा एक पटक देखाइने गाइजात्राको नाटक भन्दा यी शोहरु फरक हुन सकेका छैनन् ।
युट्युबमा विदेशका रोचक र चर्चित कमेडी शो हेरेका दर्शकले नेपाली कमेडी शोबाट नयाँपन नै पाउन सकेनन् ।
यसैविच, आजबाट प्राइम टेलिभिजनमा ‘कमेडी च्याम्पियन २’का उप–विजेता विक्की अग्रवालले नयाँ शो ल्याउँदैछन्, ‘कसम याँ दुख्छ’ । यो शोको बारेमा अहिले नै टिप्पणी गरिहाल्नु उत्तम नहोला । तर, यो शोमा पनि उनले सेलिब्रिटी बोलाएर रोष्ट गर्ने बताएका छन् ।
टेलिभिजनमा मात्र होइन, युट्युबमा पनि कमेडी शोहरु छ्याप्तछ्याप्ती भेटिन्छन् । तर, नयाँपन नहुँदा संख्या वृद्धी भएपनि गुणस्तरमा नयाँपन भेटिएको छैन ।
प्रतिक्रिया