नेपाली मेकरः ‘ब्रम्हास्त्र’सँग डराउने, आफू–आफू भिड्ने

भदौको २४ गते कुनै पनि नेपाली फिल्मको रिलिज छैन । नेपाली फिल्म यो मितिमा रिलिज नहुनुको कारण फिल्म नै नभएर होइन । भदौ यस्तो महिना हो, जहाँ अहिलेसम्म ९ वटा फिल्मको प्रदर्शन मिति तय भैसकेको छ । भदौको ३ गतेदेखि भदौको ३१ गतेसम्म फिल्मको लाइन नै लाइन छ । तर, भदौको २४ गते भने कुनै पनि नेपाली फिल्म छैन । किनकी, यो मितिमा रणवीर कपुर र आलिया भट्टको ‘ब्रम्हास्त्र’ रिलिज हुँदैछ ।

यो फिल्मसँगको डरले कुनै पनि फिल्मले यो मितिमा प्रदर्शन मिति तय गर्न सकेका छैनन् । तर, भदौ ३ गते ‘माइकल अधिकारी, कृष्णलीला, प्रेमगञ्ज’ रिलिजका लागि तयार छन् । भदौ १० मा ‘प्रकाश र राधा’, भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन र झिंगे दाउ’, भदौ ३१ मा ‘बाबरी र लाखे’ रिलिजका लागि तयार छन् ।

साउन लागेपछि यस्तो अवस्था छ कि, नेपाली दर्शकले हरेक साता एउटा फिल्म हेर्नैपर्छ । त्यसमाथि आउने हिन्दी, साउथ र हलिउड फिल्मको त कुरै छाडै । यसरीहेर्दा, नेपाली फिल्मको प्रदर्शन साउनदेखि सुरु भएर कार्तिकसम्म पुरै भरिएको छ । तर, दर्शकले कुन फिल्म मन पराउने हुन् त्यो फिल्मको क्वालिटी र प्रचारमा नै भर पर्छ ।