चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, विभिन्न पत्रकार सम्मानित (फोटो फिचर)

फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ ।

हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारीता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारीता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ जना फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डि. शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए ।

२०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।

त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्धव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । चलचित्र पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ र मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। समारोहमा अभिनेता राजेश हमाल, भुवन केसी लगायत कलाकारका साथै बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

२३औं वार्षिक उत्सव कार्यक्रम चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाको सभापतीत्वमा भएको थियो ।

तस्विर: प्रकाश भुषाल /मेरो फिल्म डटकम