चिसिएको समाजको कथा बोकेको ‘चिसो मान्छे’

फिल्म दर्शकलाई वुझाउन रेडियो नाटक जस्तै संवादको ठेली लगाउन आवश्यक छैन । पात्रले आँखाको इशाराले नै दर्शकसम्म आफ्नो कुरा भन्न सक्छन् । संवादै संवादले जर्बजस्ती निर्देशकले आफ्नो भनाई लाद्न आवश्यक छैन । दर्शकले पात्रको हाउभाउले नै आ आफ्नो धारणा बनाउन सक्छन् ।

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘चिसो मान्छे’ कम संवाद भन्ने फिल्म हो । फिल्ममा नयाँ प्रयोग गर्न माहिर मानिएका निर्देशक दीपेन्द्र के खनालले यसपटक अर्को नयाँ प्रयोग फिल्ममा गरेका छन् भन्दा फरक पर्दैन ।
बाजुराबाट आफ्नो श्रीमान्को लास लिन त्रिभुवन विमानस्थलमा आएकी एक महिला । साथमा छन्, उनका ससुरा । बलेरो गाडीमा बाजुरासम्म उनीहरुलाई पुर्याउन तयार छन् एक चालक । २ दिन लगाएर बाजुरा पुग्दा यी तिन पात्रले भोगेका र देखेका घटनाको मिश्रण हो, ‘चिसो मान्छे’ ।

स्वस्तिमा खड्का अर्थात पुष्पा । कलिलै उमेरमा बिहे गरेपनि उनले श्रीमान्को माया महशुश गर्न पाइनन् । बरु, छाउपडी गोठमा राखेर श्रीमान्ले पर सरेको बेला पनि उनीसँग शारीरिक सम्बन्ध राख्न छाडेनन् । उनी, यसलाई बलात्कार भनेर वुझ्छिन् ।

छोरी बनाउँछु भनेर घर भित्राएको ससुराले बारम्बार बलात्कार हुँदा पनि नदेखेको पीडा र आक्रोश पुष्पाको मनमा छ । श्रीमान्को लास गाडीमा राखेर बाजुरा फर्किदै गर्दा पुष्पालाई लाससँग कुनै समवेदना छैन । यसैले, उनको आँखामा आँशु कम उत्सुकता धेरै छ ।

कोरोनाका कारण श्रीमति गुमाएका अर्पण थापा छोरीलाई बहिनीको जिम्मा लगाएर बैंकको ऋण तिर्न लामो यात्रा गर्न तयार छन् ।

यात्राका क्रममा प्रहरीले घुस खाएको दृश्य, आफ्नै गाउँमा छिर्न पनि पीसीआर रिपोर्ट देखाउनुपर्ने वाध्यता, २ राजनीतिक दलको एउटा लासलाई लिएर देखिएको खिचातानी, कोरोनाका कारण गाउँमा लास बोक्ने मानिस नपाएको पीडा ।

‘चिसो मान्छे’ले यस्ता कैयो कथा भनेको छ । थोरै संवाद र धेरै भाव मिसाएर निर्देशकले एउटा फरक तर मन छुने कथा बनाएका छन् । स्वस्तिमा खड्का बाजुराकी महिलाको भूमिकामा जमेकी छिन् । देशभक्त खनालको संवाद धेरै छ । तर, उनी परिपक्क लाग्छन् । अर्पण थापाले आँखाकै इशारामा फिल्म बोलेका छन् ।

फिल्म भित्र कमजोरी पनि छन् । गाडी भित्र २ दिनसम्मको यात्रा गर्दा कैयौं दृश्यहरु पट्यारलाग्दा छन् । निर्देशकले दृश्य पुर्याउनका लागि विभिन्न कोणबाट दृश्य कैद त गरेका छन् तर दर्शकलाई होल्ड गर्न उनलाई पनि केही ठाउँमा समस्या भएको छ ।

फिल्म भित्र कथा छ, तर मर्म कम छ । दर्शकको मन हुरुक्कै हुने संवाद र दृश्यहरुको अभाव फिल्ममा छ ।

तर, नेपाली फिल्मलाई एउटा नयाँ दिशा दिनका लागि दिपेन्द्र के खनालले इमान्दार प्रयास गरेका छन् । यो इमान्दार प्रयासलाई दर्शकले साथ दिए भने उनी जस्ता निर्देशक, स्वस्तिमा जस्ती नायिका र शर्मिला पाण्डे जस्ती निर्मात्रीलाई झनै हौसाल मिल्ने पक्का छ ।