बोर्ड अध्यक्षमा संझना, भूवनदेखि राजकुमारसम्म आकांक्षी
चलचित्र विकास बोर्डको अध्यक्ष पदको २ बर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष बन्नका लागि केही फिल्मीकर्मी शक्ति केन्द्र धाउन थालेका छन् ।
विशेषगरि, सरकारको नेतृत्व गरेको पार्टी र त्यसमा पनि सूचना तथा संचारमन्त्रालय सम्हालेको पार्टीको कार्यकर्तालाई नियुक्त गर्ने परिपाटीका कारण पनि बोर्ड अध्यक्ष बन्नका लागि कांग्रेस निकट केही फिल्मीकर्मीको दौडधुप सुरु भैसकेको छ ।
विकास बोर्ड अध्यक्ष बनेर फिल्मीकर्मीले अहिलेसम्म खासै उल्लेखनिय काम नगरेपनि धेरैका लागि यो आकर्षणको केन्द्र बन्ने गरेको छ । लोभलाग्दो तलब, गाडीको सुविधा, भत्ता, बलियो बायोग्राफी बन्ने भएकाले पनि विकास बोर्ड अध्यक्ष बन्न फिल्मीकर्मीहरु लालयित हुन्छन् ।
चलचित्र विकास बोर्ड स्वायत्त नहुँदा संचार मन्त्रालयको एउटा कार्यलय जस्तो देखिएको विकास बोर्डले साँघुरो घेरा भित्र रहेर काम गर्नु परेको छ ।
यो पटक विकास बोर्ड अध्यक्ष बन्नका लागि नायक भूवन केसीदेखि निर्देशक संझना रौनियारको दौडधुप खुबै छ । यी बाहेक अन्य केह आकांक्षी पनि छन्, जो सरकारले बोर्ड अध्यक्षका लागि आवेदन खुलाएसँगै निवेदन दिन फायल तयार पारेर बसेका छन् ।
बोर्ड अध्यक्ष बन्नका लागि निर्देशक संझना रौनियार बलियो प्रतिस्पर्धी देखिएकी छिन् । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र श्रृजना सिंहको साथ पाएकी संझनाको प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणाको पनि साथ रहेको वुझिन्छ । विदेशमा चलचित्रको कोर्स नै पढेर आएकी संझनाले ‘मेघा र फागू’ जस्ता चलचित्रको निर्देशन गरेकी छिन् । यसैले, उनको दौडधुप विगत केही हप्तादेखि बढेको छ ।
बोर्ड अध्यक्ष बन्नकै लागि स्थानीय निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका नायक भूवन केसी पनि शक्ति केन्द्र धाइरहेका छन् । भूवनले फिल्म क्षेत्रको विकासका लागि आफू बलियो व्यक्ति भएको दाबी गर्दै आएका छन् । यसअगाडि दयाराम दाहालसँग पनि उनको प्रतिस्पर्धा बोर्ड अध्यक्षका लागि थियो ।
बोर्ड अध्यक्षकै लागि मनिष पण्डितको दौडधुप पनि बाक्लो छ । निर्माता सरोज न्यौपानेको साथ पाएका मनिष पनि संचार मन्त्रालयको विज्ञापन कुरेर बसेका छन् ।
पूर्व बोर्ड अध्यक्ष राजकुमार राई पनि यसपटक बोर्डमा आउन लालयित छन् । तर, सरकारले २० बर्षे अनुभव भएको व्यक्तिले पनि बोर्ड अध्यक्षमा निवेदन दिन पाउने व्यवस्था गरेको खण्डमा उनी अगाडि आउन सक्छन् । उनलाई बोर्ड अध्यक्ष बन्नका लागि अध्ययनको सिमाले छेकेको छ ।
निर्माता तथा कलाकार नवल खड्का पनि बोर्ड अध्यक्षका अर्का आंकाक्षी हुन् । नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएका नवल माओवादी केन्द्र निकट मानिन्छन् । तर, निर्माता संघको अध्यक्ष भैसकेका उनी यसपटक बोर्ड हाँक्ने दौडमा छन् ।
विकास बोर्ड अध्यक्ष बन्नका लागि फिल्मीकर्मीको दौडधुप रोचक छ । तर, बोर्ड अध्यक्ष बनिसकेपछि उनीहरुले गर्ने योजना के–के हुन् भन्नेतर्फ भने फिल्मीकर्मीको चासो हुने गर्दछ । शक्ति केन्द्र नधाएसम्म बोर्ड अध्यक्ष बन्न नसकिने भएका कारण पनि फिल्मीकर्मीहरु विभिन्न नेताका घर पुग्ने गरेका छन् ।
प्रतिक्रिया