‘सिल्ली फो’बारे केकी भन्छिन्–‘आफ्नो संघर्षको दिन संझिएँ’

नायिका केकी अधिकारीले फिल्म ‘सिल्ली फो’मा काम गर्दा आफूले आफ्नो संघर्षका दिनहरु याद गरेको बताएकी छिन् ।

असार ३१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको बिषयमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा केकीले भनिन्–‘म यो फिल्ममा अभिनयमा संघर्ष गरिरहेकी एक यूवतीको भूमिकामा छु । यो फिल्ममा काम गर्दा मलाई मेरो संघर्षका दिनहरु याद आएको थियो ।’ केकीले समाजमा नै देखिरहेका बिषयलाई फिल्मले प्रस्तुत गरेको तर्क गरिन् ।

फिल्ममा केकीलाई राजाराम पौडेल, रविन्द्र झा, धिरेन शाक्य लगायतले साथ दिएका छन् । फिल्ममा दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाँई, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल लगायतका कलाकारको पनि अभिनय छ ।

मनोज डीके निर्माता रहेको फिल्मका सह–निर्माता विशाल श्रेष्ठ हुन् । फिल्ममा दिव्य सुवेदी, विरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको एक्सन, शिव वीकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापाको सम्पादन छ ।