के जी बब यूनिभर्सकै उत्कृष्ट र्यापर हुन् ?
सुदिप भण्डारी अर्थात जी बब । एक र्याप ब्याटलबाट चर्चामा आएका र्यापर । उनको अफिसियल गीत ‘फाइनल्ली भेटियो’ केही दिन अगाडि मात्र रिलिज भयो । गीतले दर्शकको राम्रो साथ पाइरहेको छ । तर, गीत चलिरहेको समयमा जी बबको पारिवारिक झगडा र उनको व्यवहार भने मिडियामा छताछुल्ल नै भएको छ ।
जी बबका बाबु–आमाले छोरालाई एनटीएफले राखेको र आफूहरुलाई भेट्न समेत नदिएको भन्दै गुनासो गरे । बाबु–आमाले छोरा भेट्न नपाएको गुनासो गर्दै गर्दा जी बबले भने दर्जनौ मिडिया बोलाएर पत्रकार सम्मेलन गर्दै आफ्नो घरको भित्री कुरा समेत छताछुल्ल पारिदिए ।
जी बबले आफ्नी आमाको प्रेम सम्बन्धदेखि घरबाट पाएको टर्चरलाई समेत मिडियामा बोले । उनले, बाबु–आमासँग बस्नै नचाहेको र आफूले स्वतन्त्रता खोजेको तर्क गरे । यतिमात्र होइन, आफ्नो परिवारलाई आफू भन्दा पनि पैसा बढी प्यारो भएको उनको भनाई थियो ।
चर्चित र्यापरको यो शैलीबाट उनका फ्यानहरु दुःखी छन् । एक गायकबाट राम्रो गीतको अपेक्षा गरेका फ्यानहरु यसपटक भने जी बबले आफ्नी आमाको बिषयमा बोलेको कुरा, घरमा बस्ने मन नलागेको भन्दै दिएको तर्क आदिलाई राम्रो मानेनन् ।
तर, रिहाबबाट सिधै पत्रकार सम्मेलनमा आएका गायकले भने आफूलाई नेपालको मात्र नभएर यो ब्रम्हाण्डकै उत्कृष्ट र्यापरको संज्ञा दिए । उनले, चाडै नै दर्शकले उत्कृष्ट गीत पाउने भन्दै नेपालबाट विश्वलाई नै तरंगीत बनाउने गीत झर्ने दाबी समेत गरे ।
यो कुरालाई जी बबको घमण्डको रुपमा हेरिएको छ भने आफ्नै आमा–बाबुको बिषयमा जी बबले बोलेको कुरालाई अधिकांशले राम्रो मानेनन् । जी बबले स्विकार गरेका छन् कि, उनी नशालु पदार्थ सेवन गर्छन् । तर, उनले आफ्नो दिमाग भने एकदमै ठिक रहेको तर्क समेत गरेका छन् ।
तर, परिवार र विशेषगरि आफूलाई जन्म दिने आमाको मन दुखाएर जी बबले बनाउँदै गरेको क्रेजमा बञ्चरो हानेका छन् ।
प्रतिक्रिया