‘सिल्ली फो’मा अभिनय गर्दा संघर्षका दिनहरू याद आयो, फिल्मले नेपालीपन र नेपाली स्वाद भन्छ: केकी अधिकारी

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’ ले पत्रकार सम्मेलन गरेको छ । आइतबार राजधानीमा फिल्मको एक पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो ।

कमेडी जनरामा निर्माण भएको फिल्ममा केकी अधिकारी एक मात्र मुख्य महिला कलाकारको रुपमा छिन् । राज बहादुर साने निर्देशित सिल्ली फोमा उनी करिअर स्थापित गर्न संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा राजाराम पौडेल र रविन्द्र झाको पनि मुख्य भुमिका रहेको छ ।

फिल्ममा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकी सम्झिएको बताउँछिन् । केकीले भनिन्, ‘मैले करिअरका लागि गर्ने संघर्ष , त्यसक्रममा भोग्ने भोगाइलाई भोगेको युवतीको भूमिका निर्वाह गरेकी छु । यो फिल्मको कथावस्तु संघर्षशील हरेकको जीवनसँग मिल्छ । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ फिल्मले दर्शकलाई नेपालीपन र नेपाली स्वाद दिने विश्वास केकीको छ ।

आयोजित कार्यक्रममा निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो फिल्मबाट सिकेको कुरा भोलीका दिनमा राम्रो फिल्म निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । कुनैपनि विदेशी फिल्मबाट प्रभावित नरहेको दावी सहित सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा फिल्मले भन्ने बताए ।’

कलाकार रविन्द्र झाले पनि फिल्मको पात्र मार्फत प्रस्तुत गरेको समस्या हाम्रै गाउँ सहरको रहेको बताए । ‘यो फिल्मको पात्र र त्यसको बनोट हाम्रै समाजबाट प्रभावित छ’ झाले भने । यस्तै कलाकार राजाराम पौडेलले फिल्ममा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै फिल्म राम्रो बनेको दाबी गरे ।

फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । फिल्ममा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको फिल्मका सह-निर्माता विशाल श्रेष्ठ हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । यो फिल्मलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।