बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा ‘पानीफोटो’

फिल्म ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक भएको छ ।

शुक्रबार निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । निर्माण टिमले फस्टलुकका रुपमा फिल्मको डाइनामिक मोसन पोष्टर सार्वजनिक गरेको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले संदेश समेत दिएका छन् ।

पछिल्लो समय कलाकार निर्देशक स्वयं दर्शकसँग साक्षात्कर हुँदै फिल्मको बारेमा जानकारी दिने प्रचलन बढेको छ । निर्देशक लामिछानेले बलिउडतिर चलेको सोही चलनलाई पछ्याउँदै फिल्मको सम्पूर्ण जानकारी दर्शकसँग बाँडेका छन् । उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताएका छन् । आफू सहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उनले सपनाको जवाफ नहुने बताए ।

फिल्ममा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ ।  ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । छोरा कुरेर बस्ने बाबुआमाको कथा प्रस्तुत गर्ने फिल्म खगेन्द्र लिखित यही नामको नाटकको फिल्मांकन हो ।

खगेन्द्रले सार्वजनिक भिडियोमा भनेका छन्, ‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको ? धेरैले सोध्नु हुन्छ । तर, एउटा फिल्म भएपनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन’।

फिल्ममा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मालिका महत प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का जस्ता चर्चित कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म भदौ १० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म दुई हप्ता प्रिपोन्ड हुँदै साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रा.लिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । फिल्मको निर्माता रोजिना सिटौला र रबिन्द्र बज्राचार्य हुन् ।