असारमा बिहे गरेर फिल्मको छायांकन सुरु गर्दै नीता–हरिहर

नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारी ३ बर्षदेखि प्रेम सम्बन्धमा छन् । प्रेम सम्बन्धमा रहेपनि यो जोडीले सार्वजनिक रुपमा प्रेम स्विकार भने गरेको छैन । तर, उनीहरु प्रेम सम्बन्धमा रहेदेखि नै एक अर्कासँग नजिक छन् र विभिन्न प्रोजेक्टमा सहकार्य पनि गर्दैछन् ।

अब, यो जोडीले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने भएको छ । वुझिएअनुसार, नीता र हरिहरले असारको २४ गते बिहे गर्दैछन् । २४ गते बिहे गरेर २६ गते पार्टी दिने तयारीमा उनीहरु छन् । उनीहरुको बिहे याक एन्ड यती होटलमा हुनेछ ।

नीता र हरिहरले बिहेको पार्टी भव्य दिने तयारी गरेका छन् । उनीहरुको बिहेमा भारतीय फिल्मका कलाकार प्रदिप रावत पनि सहभागी हुँदैछन् । प्रदिपले नीता र हरिहरसँग ‘ह्रस्व दीर्घ’ नामक फिल्ममा पनि काम गर्दैछन् ।

यसका लागि यी दुइले तयारी पनि थालिसकेका छन् । बिहे लगतै यो जोडीले फिल्मको छायांकन सुरु गर्दैछ ।

यो फिल्ममा नीता र हरिहरको साथमा भारतीय फिल्मका चर्चित कलाकारहरु प्रदिप रावत, सुनिल वर्मा लगायतले काम गर्दैछन् । चन्द्र पन्तले फिल्मको निर्देशन गर्न लागेका हुन् ।