बोर्ड अध्यक्ष दाहालको २ बर्षः अपेक्षा धेरै, नतिजा औषत
चलचित्र विकास बोर्डको कुर्सीबाट दयाराम दाहाल बिदा भएका छन् । केही दिन अगाडि मात्र बोर्ड अध्यक्षको पदबाट बिदा भएका दयाराम दाहालले २ बर्ष विकास बोर्डमा बिताउँदा के–के उपलब्धी गरे, हामी यहाँ समष्टिगत रुपमा समीक्षा गर्दैछौ ।
चलचित्र विकास बोर्ड नियुक्ती लिदा बोर्ड अध्यक्ष दाहालको काँधमा जिम्मेवारीको भारी थियो । कोरोना महामारी चलिरहेको समयमा बोर्डमा आएका उनले केही समय काम नै नगरी बस्नुपर्यो ।
चलचित्र विकास बोर्डमा उनी आइसकेपछि फिल्मीकर्मीले फिल्म क्षेत्रमा ठूलै परिवर्तन हुने अपेक्षा राखेका थिए । तर, सुरुवाती दिनमा केही छनक देखाएपनि विस्तारै बोर्ड अध्यक्ष थाके ।
केशव भट्टराईको असमायीक निधनपछि बोर्डको कुर्सीमा आइपुगेका बोर्ड अध्यक्षले बिदा हुनुभन्दा केही हप्ता अगाडि मात्र ३ बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ वितरण गरे । तर, चलचित्र क्षेत्रमा योगदान नै नभएका मानिसहरुलाई पुरस्कार दिएर उनले २ बर्षमा कमाएको केही चर्चा पनि गुमाए र आलोचना भोगे ।
हरेक समय आफ्नो मन्तव्यको क्रममा उनले चलचित्र विकास बोर्डले गर्दैछ भन्ने भने छाडेनन् । तर, बोर्डले देखिने गरि उपलब्धीमुलक काम खासै गरेको पाइएन ।
कोरोनाका कारण समस्यामा परेका फिल्महरुलाई राहत दिनका लागि उनले चालेको कदम स्वागतयोग्य नै थियो । उनकै पहलमा केही फिल्मले राहत पाए, जुन सुखद कुरा हो ।
विकास बोर्डमा रहँदा उनले हल अनुगमनलाई अगाडि त बढाए, तर त्यसको नतिजा खासै सुनिएको छैन । सेन्सर नगरी कुनै पनि फिल्मको बुकिङ खुलाउन नपाइने आदेश त उनले दिएका छन्, अब त्यो कती लागू हुन्छ त्यो हेर्न बाँकी छ ।
फिल्मीकर्मीहरुलाई सम्मान, पुरस्कार र राहत दिने कुरामा उनको कदमलाई कमजोर भनिहाल्न मिल्दैन । तर, उनको कार्यकालमा पनि बक्स अफिसको नतिजा स्पष्ट रुपमा देखिएन ।
तर, फिल्म क्षेत्रलाई अगाडि बढाउन र सरकारसँग विभिन्न समस्या लिएर जाने क्रममा उनको साथ फिल्मीकर्मीहरुसँग सधै नै देखियो ।
दयाराम दाहाल निर्देशक र निर्माता हुन् । फिल्म क्षेत्रको समस्या उनलाई अधिकांश थाहा थियो । तर, उनको कार्यकालको करिब एक बर्ष कोरोनाले समस्यामा पार्योे । अर्को एक बर्ष उनले गर्न खोजेर पनि धेरै कुराहरु पुरा गर्न सकेनन् ।
तर, जादाजादै उनले गरेको राष्ट्रिय चलचित्र पुरस्कार विवादमा पर्दा भने उनको कार्यकालका अन्य काम छायामा परेका छन् ।
प्रतिक्रिया