धमाधम नयाँ नायक भित्राउँदै निर्देशक

नेपाली फिल्म क्षेत्रमा नायकको अभाव छ भन्दा अचम्म सुनिएला । तर, फिल्म बनाउने समयमा निर्देशक र निर्माता नायक नपाएर हैरान छन् । चलेका केही नायक सिमित ब्यानरबाट बाहिर निस्कन चाहदैनन् । थोरै मात्र कलाकारको स्टारडम भएकाले पनि निर्देशकहरु औषत चलेका नायकसँग काम गर्न जोखिम ठान्छन् । यसैले, अब नयाँ नायकसँग काम गर्नुको विकल्प निर्मातासँग छैन ।

निर्देशक मिलन चाम्सले फिल्म ‘वर एण्ड वधु’बाट विवेक कर्माचार्यलाई भित्राएका छन् । रोमानियाबाट छायांकन सुरु हुने फिल्मका लागि विवेक र नायिका आँचल शर्माले रोमान्स गर्दैछन् । फिल्म ‘लण्डन टू पेरिस’बाट पनि नयाँ नायक भित्रिएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग यो फिल्ममा नयाँ अनुहार निश्चल खड्काले काम गर्ने पक्का भएको छ ।

निर्देशक घनश्याम लामिछानेले पनि पुराना नायकहरु सबै व्यस्त भएकाले नयाँ अनुहार लिएको बताए । साथै, नयाँ नायकहरुसँग काम गर्दा सहज हुने उनको भनाई छ । निर्देशक विकासराज आचार्यले पनि फिल्म ‘नाई नभन्नु ल ६’बाट नयाँ नायक भित्राउँदैछन् । उनले फिल्ममा भित्राउन लागेका नयाँ अनुहार आर्शिवाद क्षेत्रीलाई भित्राउँदैछन् । उनले, यो फिल्ममा आँचलसँग रोमान्स गर्दैछन् ।

अनमोल केसी, प्रदिप खड्का लगायतका नायकले कम फिल्म खेल्नु, पल शाह प्रहरी थुनामा रहनु, सलिनमान बनियाँ फिल्म क्षेत्रबाट टाढा रहनु, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीले फरक किसिमका फिल्ममा आफूलाई ढाल्नु आदि कारणले पनि निर्देशकहरुका लागि नयाँ अनुहार भित्राउने दबाब बढेको हो ।