के फुर्पाले मिरुना रोएपछि माफी पत्रमा हस्ताक्षर गरेका थिए ?

नायिका मिरुना मगर र फुर्पा तामाङबिच मंगलबार सहमती त भयो । सहमती भैसकेपछि धेरैले यो लफडा सकिएको आँकलन गरेका थिए । तर, यो मुद्दा झनै बल्झिने देखिएको छ । मिरुनासँग माफी मागेर सहमती गरेका फुर्पाले आफूले नायिका रोएपछि आफ््नो गल्ती नै नभएपनि माफी मागेको बताएका छन् । उनले भनेका छन्–‘मैले मिरुनामाथि कुनै पनि खालको अभद्र व्यवहार गरेको थिइनँ । फोटो खिचेर घुम्ने क्रममा भीडका कारण धकेलाधकेलमा परेर मेरो हात मिरुनासँग ठोक्किन पुगेको हो ।’

उनले, चलचित्रको प्रदर्शन नरोकियोस् र नायिकालाई भने धेरैले नराम्रो नभनुन् भनेर माफी पत्रमा हस्ताक्षर गरेको बताएका छन् । उनले, एक व्यक्तिसँग फेसबुक लाइभमा भनेका छन्–‘मलाई मिरुनाले अचानक थप्पड हानेपछि डराएको थिएँ । थप्पड हानेपछि उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लाग्यो । अनि, म हलबाट साथीहरुसँग बाहिर निस्कदै थिएँ, त्यहीबेला प्रहरीले समात्यो ।’

फुर्पाले भनेका छन्–‘पत्रमा गलत वुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, नायिकाले यस्तो लेख्दा मान्छेहरुले नराम्रो भन्छन्, मलाई बचाउनुहोस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको हुँ ।’
फुर्पाले विनाकारण माफी माग्नु परेको र नायिकाले थप्पड हानेको बिषयमा अझै माफी नमागेको भन्दै सामाजिक संजालमा विरोध भैरहेको छ ।