‘माग्ने बुढा’को ‘कमेडी हब’: फरक शैली, पुरानै कमेडी
हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ लामो समयपछि टेलिभिजनमा फर्किएका छन् । केदारको निर्देशनमा तयार भएको ‘कमेडी हब’ नामक शो बुधबारदेखि एपी वान टेलिभिजनबाट प्रशारण सुरु भएको छ । लामो समय वर्कशप गरिएको र निक्कै नै प्रचार गरिएको यो शोबाट दर्शकको अपेक्षा पनि खुबै छ ।
फिल्मको पर्दामा दर्शकलाई हसाँउन माहिर मानिएका केदार सानो पर्दामा पनि दर्शकलाई उही तरिकाले हसाँउन सफल हुन्छन् भन्ने विश्वास मिडिया हबको छ । यसैले, त उनीमाथि मिडिया हबले करोड बढी लगानी गरेको छ । ३ दर्जन बढी कलाकारलाई एकैसाथमा राख्दै केदारले ठूलै हल्लाखल्ली गरेर शो ल्याएका छन् ।
पहिलो शो सार्वजनिक भएपछि यो भन्न करै लाग्छ कि, यो शोमा नयाँ नयाँ विधा थपिएको छ । शोमा ड्रामा, स्ट्यान्ड अप कमेडी, प्यारोडी सबै छ । यस्तो फरक फरक विधा समेटेर संभवत नेपालमा कमेडी शो सार्वजनिक भएको थिएन ।
तर, शोमा प्रस्तुत गरिएका बिषयहरुमा कुनै नयाँ खुराक छैन । ‘कमेडी च्याम्पियन’को पहिलो सिरिजका विजेता हिमेश पन्तको पुरानै शैलीको नेतालाई गाली गर्ने तरिका होस् या प्रभात लामाको राजेन्द्र खड्गीको प्रहसन, पुरानै लाग्छ ।
कमेडी भन्ने वित्तिकै नेतालाई मात्र गाली गर्नुपर्ने, जर्बजस्ती हसाउनुपर्ने हुटहुटीबाट केदारको स्क्रिप्ट पनि अघि बढ्न सकेको देखिदैन ।
राजा राजेन्द्रको बासी भैसकेको प्यारोडीले दर्शकलाई खासै मनोरञ्जन दिदैन । कलाकारहरु सबै चलेका छन् तर स्क्रिप्ट नचलेपछि शो चलाउन गाह्रो पर्छ । अपेक्षा गरौ, आउँदो भागबाट यी कुराहरुमा केही परिवर्तन पक्कै हुनेछन् ।
प्रतिक्रिया