‘कबड्डी ४’को कमाई बम्पर, तर फरक–फरक आँकडा किन ?

शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले ५ दिनसम्म बम्पर व्यापार गर्यो । आज छैटौ दिनपनि फिल्मको कमाइमा कुनै कमी आएको छैन । मल्टिप्लेक्समा फिल्मको बम्पर कमाई जारी छ । नायिका मिरुना मगरको घटनाले फिल्मलाई केही घाटा लाग्छ कि भन्ने विश्लेषण भएको थियो । तर, घटना मंगलबार नै मिलिसकेका कारण फिल्मको रकेट रफ्तार रोकिने देखिदैन ।

तर, फिल्मको व्यापारलाई लिएर फरक–फरक आँकडा सार्वजनिक भैरहेका छन् । ५ दिनमा कतै १० करोड, कतै १२ करोड त कतै १३ करोडका रिपोर्टहरु सार्वजनिक भएका छन् ।

तर, वितरक मनोज राठीले फिल्मको व्यापार ५ दिनमा १२ करोड रहेको बताएका छन् । उनले भने–‘फिल्मले ४ दिनमा साढे १० करोडको व्यापार गरेको छ । मंगलबार पनि व्यापार डेढ करोडको हारहारीमा छ । फिल्मले एक सातामा १५ करोड कमाई गर्ने निश्चित छ ।’

सिंगल रिलिज भएका कारण फिल्मले उच्च शो प्राप्त गर्यो र दर्शकले सोही अनुसार प्रेम पनि गरेका छन् । यसकारण फिल्मले बम्पर कमाई गरेको राठीको भनाई छ । फिल्मले ‘छक्का पन्जा ३’को १६ करोडको कमाई दोश्रो साताको शनिबारसम्म तोड्ने निश्चित देखिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर लगायतका कलाकारको अभिनय छ ।