मिरुनासँग फुर्वाले गल्ती स्विकार गर्दै माफी मागे, सकियो विवाद

आइतबारदेखि सुरु भएको फिल्म ‘कबड्डी ४’को विवाद सकिएको छ । नायिका मिरुना मगरसँग फुर्वा तामाङले गल्ती स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको हो । अब, यो विवादलाई अगाडि नलैजाने सहमती समेत दुबैपक्षविच भएको छ ।

हिरासतबाट मुक्त भएपछि फुर्वा र मिरुनाविच दुबै पक्षको रोहबरमा भेट भएको थियो । भेटघाटमा फुर्वाले गल्ती स्विकार गर्दै माफी मागेका छन् भने मिरुनाले पनि भाई संझेर माफी दिएकी छिन् ।

सार्वजनिक विज्ञप्तीमा भनिएको छ–‘नायिका मिरुना मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितीमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्माबलम्बी, भिक्षु, लामा समुदया तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।’

जेठको १५ गते आइतबार काठमाडौंको सिभिल मलमा पुग्दा फुर्वाले भीडमा ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले थप्पड हानेकी थिइन् । साथै, उनलाई प्रहरीले पक्राउ समेत गरेर हिरासतमा राखेको थियो । फुर्वाको रिहाईको माग गर्दै आज बिहानैदेखि प्रदर्शनहरु पनि भएको थियो ।