कसको आँखा लाग्यो ‘कबड्डी ४’को सफलतामा ?
कोरोना कालपछि नेपाली फिल्म क्षेत्र विस्तारै फक्रिदैछ । निर्माताले लगानी गरेका करोडौं रकम बालुवामा पानी भैरहेका छन् । तीमध्ये केही फिल्मले मात्र संभावनाको ढोका खोलिदिएका छन् । जेठको १३ गतेबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यही फिल्मको डरले नेपालमा हिन्दी फिल्म ल्याउन समेत वितरकले सोच्नु पर्ने अवस्था आएको छ ।
साच्चै भन्नुपर्दा, नेपाली फिल्म क्षेत्रमा आशाको दियो यो फिल्मले बालिदिएको छ । यतिमात्र होइन, फिल्मले एकै दिनमा ३ करोडसम्मको कारोबार नेपाली फिल्मले गर्न सक्छन् भन्ने देखाइदिएको छ । सबैतिरबाट हेर्दा, ‘कबड्डी ४’ चल्दा सबैलाई फाइदा नै भएको छ ।
तर, निरन्तर फिल्म निर्देशन गर्ने रामबाबु गुरुङ, निरन्तर फिल्म बनाउने निर्माता मणिराम पोखरेल लगायतको खुशीमा एक्कासी आँखा लागेको छ ।
आइतबार काठमाडौंको सिभिल मलमा दर्शकसँग प्रतिक्रिया लिन पुग्दा नायिका मिरुना मगरले ‘ब्याड टच’को महशुश गरिन् । मिरुनाले यस्तो महशुश गरेपछि एक यूवालाई थप्पड हानिन् र प्रहरीमा वुझाइन् । सामाजिक संजाल यतिबेला तातिरहेको छ । फिल्मको विरुद्धमा नाराबाजी भैरहेका छन् । फिल्मको पोष्टर हलबाट च्यातिएको छ । नेपाली फिल्म क्षेत्रले यस्तो यस अगाडि कमै मात्र भोगेको थियो ।
मिरुना विरुद्ध नाराबाजी भैरहेको छ, फिल्मको प्रदर्शन रोक्नुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा उजुरी परेको छ । बोर्डले छानबिन गरेर मात्र वास्तविकता सार्वजनिक गर्ने बताएको छ ।
पक्राउ परेका फुर्वा लामा रिहा भैसकेका छन् । प्रहरीले भने मिरुनामाथि ‘ब्याड टच’ भएको भन्दै अनुसन्धान जारी राखेको उल्लेख गरेको छ । मिरुना मगरले माफी नमागेसम्म फिल्म चल्न नदिने माग केही समुहको छ ।
पक्कै पनि, दोषीलाई कारवाही हुनुपर्छ, निर्दोष फस्न हुँदैन । तर, यसमा फिल्म र त्यसमाथि लगानी गर्ने निर्माताको दोष के हो ? यसमा फिल्म नै रोक्नुपर्ने माग राख्दा फिल्मका मेकर र त्यसमा जोडिएका सयौं व्यक्तिहरुमाथि अन्याय हुँदैन र ?
‘कबड्डी ४’ चल्दा नेपाली फिल्म क्षेत्रकै केही व्यक्तिहरुको रातको निन्द्रा हराएको छ । आफ्नो फिल्म चल्दा मक्ख पर्ने र अरुको फिल्म चल्दा दुःखी हुने जमात नेपाली फिल्ममा खुबै छ ।
यस्तो अवस्थामा फिल्म नै बन्द गर्नुपर्ने माग राख्नु जायज नहुनसक्छ । यस बिषयमा प्रहरीलाई नै अनुसन्धान गर्न दिन आवश्यक छ ।
प्रतिक्रिया