नीशा, अभय, बुद्दि र बिजयको ‘आँखा’ निर्माणको घोषणा

निर्देशक जौन योञ्जनाको निर्देशनमा फिल्म ‘आँखा’ बन्ने भएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्ममा जौनको लेखन तथा निर्माण पनि रहनेछ । नेपाली समाजभित्रको गम्भिर बिषयलाई पर्दामा उतार्ने तयारी जौनले गरेका छन् । उनले ‘बाह्र सत्ताइस’ नामक फिल्मबाट यो क्षेत्रमा डेब्यू गरेका थिए भने उनकै निर्देशनमा ‘म राजेश हमाल’ फिल्मको छायांकन पनि सकिएको छ ।

जेठको २० गतेबाट यो फिल्म छायांकनमा जानेछ । फिल्ममा आर.के. मेहत्ता, अस्मिता लामिछाने, वुद्दि तामाङ, बिजय बराल, नीशा अधिकारी, अभय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की, रविन्द्र झा, कृष्णभक्त महर्जन, सरोज खनाल, लुनिभा तुलाधर, सरोज लामिछाने, दीपक कोइराला लगायतका कलाकारको अभिनय रहनेछ ।

ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहने यो फिल्ममा दीपक आरजेको संगीत, अलोक सुक्लाको छायांकन रहनेछ । कार्यक्रममा बोल्दै नायिका नीशा अधिकारीले आफूलाई यसको कथा र आफ्नो चरित्रले लोभ्याएको बताइन् । नीशाले यो बर्ष आफूले फरक कथामा काम गर्न पाइरहेको पनि सुनाइन् ।

कार्यक्रममा बोल्दै कलाकार बिजय बरालले फरक कथामा काम गर्ने चाहना हरेक कलाकारको हुने बताए ।