गणतन्त्र दिवसको अवसर पारेर ‘काँडेतार’को पोष्टर सार्वजनिक

नेपाली फिल्म ‘काँडेतार’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर आईतबार नवल खड्का निर्देशित फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोष्टरमा फिल्मका शीर्ष कलाकारहरु नवल खड्का, गौरव पहारी, प्रशान्त यादवसँगै अभिनेत्रीहरु सुरबीना कार्की र रेबिका गुरुङलाई प्रस्तुत गरिएको छ ।

शीर्ष चार कलाकारहरुले हातमा काँडेतार लिएको पोष्टरमा देख्न सकिन्छ । नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा यो फिल्म निर्माण गरिएको हो ।

नवल खड्काको कथा रहेको फिल्मको पटकथा नवल र शिवम् अधिकारीले लेखेका हुन् । माकिको राई र अञ्जु केसी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा मुरलीधर, रविन्द्र रञ्जन झालगायत अन्य एक दर्जन बढी कलाकारहरुले समेत अभिनय गरेका छन् ।

यो फिल्म सार्वजनिक प्रदर्शनभन्दा अगाडि विदेशमा प्रदर्शन गरिने साथै देशका विभिन्न जिल्लामा च्यारीटी शो गर्ने निर्माण टिमको योजना छ । श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्मका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ । फिल्म सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले र बन्दे प्रसादले लिएका छन् । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिले भरिएका फिल्म निमार्ण गरेका थिए ।

सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै नगरी असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने ‘काँडेतार’ फिल्मको कथासार रहेको निर्देशक एवं अभिनेता नवल खड्काले बताएका छन् ।