‘कबड्डी ४’: संवादले टिकेको फिल्म

२ दिनमै ६ करोड कमाएको फिल्म ‘कबड्डी ४’माथि दर्शकको विश्वास देखिएको छ । दर्शकले ‘छक्का पन्जा’पछि सर्वाधिक विश्वास गरेको सिरिज फिल्ममा ‘कबड्डी’ पर्छ । चौथो सिरिजलाई फाइनल म्याच भन्दै रामबाबु गुरुङले फिल्मलाई निर्देशन गरेका छन् । यसैले, पनि दर्शकको उत्सुकता यसपटक अझै बढी देखिएको छ ।

दर्शकले विश्वास गरेर हलसम्म हेर्न पुगेको यो फिल्मले के त्यो विश्वास पाएको छ त ? हामी यसको बारेमा चर्चा गर्दैछौ ।

यसपटकको कथामा रामबाबुले विरकाजी(दयाहाङ राई)को बिहेको प्रशंसगलाई नै महत्व दिएका छन् । यसपटक फिल्ममा राजनीति घुसेको छैन । विरकाजीको बिहेप्रतिको उदासिनता र शान्ती मिस(मिरुना मगर)को प्रवेश भएपछि आउने परिवर्तनमा कथा बगेको छ । शहरमा पुगेर डिग्री पढेको विरकाजी(सौगात मल्ल)को प्रवेश भएसँगै कथाले नयाँ मोड लिन्छ । विरकाजी बिहेदेखि उदासिन छ । बिहे र यो संसारदेखि नै दिक्क भएर उ शान्तीको बाटो खोज्दै भिक्षु समेत बन्छ । तर, बंश अगाडि बढाउनुपर्ने दबाबका कारण घर फर्किन्छ ।

राजनीतिको आडमा विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बनेको विरकाजी र बमकाजीको शान्ती मिसलाई पाउनका लागि भएको दौडधुप नै फिल्मको मुल कथा हो । जसमा, विरकाजीको साथमा वुद्दि तामाङ र बिजय बराल त हुने नै भए ।

उपेन्द्र सुब्बा र रामबाबुले नै मिलेर लेखेको फिल्मको संवादले दर्शकलाई २ घन्टा १७ मिनेट अड्याएको छ । दर्शक संवादमा हाँस्छन् । त्यसमै भुल्छन् । कथा के हो स्पष्ट भएकाले यसपटक रामबाबुलाई त्यसको बारेमा वुझाउन समय खर्चिनु परेको छैन ।

तर, यसपटक उनले फिल्म निक्कै स्लो बनाएका छन् । सौगात मल्लको अभिनय लाउड भएकाले पर्दामा उनी बारम्बार देखिदा दर्शकलाई अल्छी लाग्न सक्छ । गौमायासँग उनको बारम्बार दोहोरिने एउटै संवाद पट्यारलाग्दो छ ।
झाक्रीको प्रवेश र वुद्दि तामाङको छोरा झाक्रीको हो कि वुद्दिकै हो भन्ने प्रश्नको जवाफ दिइएको छ ।

फिल्म ‘कबड्डी ४’मा नयाँपन छैन । अघिल्ला सिरिज भन्दा यसपटक यो फिल्म कमजोर देखिएको छ । निर्देशक आफूलाई अब्बल सावित गर्न भन्दा पनि बक्स अफिसमा कमाई गर्न दौडिएका छन् । अझ भनौ, ‘कबड्डी ४’ हिट सिरिजकै ब्याज खानलाई बनाइएको हो भन्दा फरक पर्दैन ।

फिल्ममा विरकाजीका लागि विजयले एउटा संवाद बोल्छन्–‘यसपटक तपाई नै शान्त भएर खासै मज्जा आएको छैन’ । फिल्म हेर्ने दर्शकले विरकाजीको शान्तपन अन्तिमसम्म रहँदा मज्जा लिन सक्दैनन् । सौगातको अभिनय राम्रो छ तर भूमिका लाउड छ ।

मिरुना मगर नाम अनुसार नै शान्त देखिएकी छिन् । अर्गानिक कथामा पञ्चलाइनले भरिएका संवादमा रमाउन तपाई हलसम्म जान सक्नुहुन्छ । तर, २ दिनमै ६ करोड कमाएको फिल्मबाट ठूलो आशा लिएर नजानुहोला । अपेक्षा कम लिनुभयो भने तपाई निराश हुनु पर्दैन ।