पाँच तारेमा आँचल र विवेकको ‘वर एण्ड वधु’को घोषणा

निर्देशक मिलन चाम्सले एक भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ फिल्म ‘वर एण्ड वधु’ निर्देशनको घोषणा गरेका छन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने यो फिल्मको छायांकन तीन सातापछि हुने जानकारी पत्रकार सम्मेलनमा गराइयो । रोमानिया, इटाली, फ्रान्स र नेपालमा यो फिल्म खिचिनेछ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य शिर्ष भूमिकामा देखिदैछन् । उनीहरुको साथमा फिल्ममा विजय लामा, रमेश वुढाथोकी, रविन्द्र खड्का, वुद्दि तामाङ, किरण केसी, हिमेष पन्त, श्रृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाल लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । सुदिप बरालको छायांकन रहने फिल्ममा कविराज गहतराज र सुसी वाइवाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहनेछ ।

फिल्म घोषणा कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले यो फिल्मको कार्यक्रममा उपस्थिती हुँदा आफूलाई बल्ल नायिका भएको जस्तो लागेको बताइन् । उनले, यो फिल्मका लागि आफूले शतप्रतिशत दिने बताइन् । नव–नायक विवेक कर्माचार्यले फिल्मका लागि आफू उत्साहित भएको र आँचलसँग काम गर्न पाउँदा खुशी लागेको बताए ।

निर्देशक मिलन चाम्सले आफूले सधै नै नेपाली फिल्मलाई अन्तरराष्ट्रिय बजारमा कसरी लैजान सकिन्छ भनेर सोच्ने गरेको बताए । कमेडी र लभस्टोरी कथामा यो फिल्म निर्माण हुनेछ ।