सुमन शेखर मानन्धरको ‘साम से ही दिल’ टी सिरिजबाट सार्वजनिक
भारतीय सङ्गीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल ‘साम से ही दिल’ सार्वजनिक गरिएको छ ।
भारतीय संगीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गीत आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल सार्वजनिक गरिएको हो । टी–सिरिज लेबलमा तयार भएको गजलमा हिन्दी र उर्दू भाषाको प्रयोग गरिएको छ । गीतलाई जनकदीप प्रोडक्सनले निर्माण गरेको हो ।
वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीतकार इम्तियाज वफा, गायक सुमन शेखर मानन्धरसहित अन्य कलाकार उपस्थिति थियो । गजलमा अभिनेता सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय देख्न सकिन्छ ।
शाहले गीत मर्मस्पर्शी रहेको र शब्द तथा दृश्यले गीतलाई न्याय मिलेको बताए । उनले नेपाली अनुवादमा यसको भाव सुनाउदै । गायक सुमन मानन्धरका बुवा तथा वरिष्ठ सञ्चारकर्मी शेखर मानन्धरलाई सम्झिएर नोस्टाल्जिक बन्दै शाहले आफ्नो भाव व्यक्त गरे । ‘हामी उहाँको गीत सुनेर हुर्किएको पुस्ता हौं,’ शाहले सम्झिए ।
यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले नेपालमा समेत गीत–संगीतलाई सेन्सर गर्नुपर्छ भन्ने बहसलाई यो गीतले सुरुवात गर्ने धारणा राखे ।
गायक मानन्धरले भने यो गजल हेरेपछि नेपालको रारा ताल घुम्न आउने हिन्दी र उर्दूभाषी पर्यटकको संख्यामा वृद्धि हुने बताए । यस्तै, गीतकार इम्तियाज वफाले गजलले नेपालको पर्यटन क्षेत्रलाई फाइदा पुग्ने र हरेक भाषालाई उत्तिकै सम्मान गर्नुपर्ने बताएका छन् । साथै, छिट्टै अन्य नेपाली गीतमा पनि काम गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे ।
‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने ।
उक्त भिडियो तीन वर्ष ३ दिन पछि सार्वजनिक भएको पनि कार्यक्रमै जानकारी गराइएको थियो । यो गजल भिडियो रारा, स्वयम्भू, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकन गरियो हो ।
प्रतिक्रिया