पार्टी भित्रको लेउ हटाउन नेपाली कांग्रेसमा लागेँः स्वेता खड्का
नायिका स्वेता खड्काले आफूले राजनीतिलाई फोहोरी खेल भनिराख्न भन्दा पनि त्यसलाई सफा गर्नका लागि आफै होमिन आवश्यक रहेको ठानेर नेपाली कांग्रेस पार्टी रोजेको बताएकी छिन् । आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टिका लगाउँदै नेपाली कांग्रेसमा प्रवेश गरेकी स्वेताले आफ्नो निर्णयमा आउने सकारात्मक र नकारात्मक सबै प्रतिक्रिया स्विकार गर्न तयार रहेको पनि बताएकी छिन् ।
उनले, कुनै पनि कलाकारले राजनीति गर्न नै हुन्न भन्ने सोचलाई प्रतिवाद गर्नका निमित्त कांग्रेस पार्टी रोजेको पनि बताएकी छिन् । राजनीतिबाट जती नै टाढा राख्न खोजेपनि त्यो संभव नरहेको भन्दै स्वेताले राजनीतिलाई व्यवसायिक पेशा भन्दा पनि सामाजिक सेवाको रुपमा सोच्नु पर्ने तर्क गरिन् ।
उनले लेखेकी छिन्–‘राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरि अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महशुश गरेकी छु । सधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेताहरुप्रति धारे हात लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्क्रिय प्रवृत्तिलाई त्याग्ने बेला आएको छ ।’
आफूले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइको पथमा आफ्नो पाइला अगाडि बढाएको उनको तर्क छ ।
स्वेताले पोखरी फोहर भयो भने लेउलाई गाली गर्नुभन्दा पनि लेउ सफा गर्न पोखरीमा नै प्रवेश गर्न आवश्यक रहेको भन्दै आफू राजनीतिमा लागेको पनि स्पष्ट पारेकी छिन् । उनले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेर आफूले कला क्षेत्रको आवाजलाई बुलन्द बनाउने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
प्रतिक्रिया