कोरोनाले थन्किएका धेरै फिल्म रिलिज, ‘प्रेमगीत ३’ टिम किन मौन ?

२ बर्ष अगाडि कोरोना महामारी सुरु हुनु भन्दा अगाडि रिलिज मिति तय गरेर पोष्टपोन्ड गर्न वाध्य भएका अधिकांश फिल्म रिलिज भैसकेका छन् । दर्शकले प्रतिक्षा गरेका अधिकांश फिल्मका निर्माताले हलमा फिल्म ल्याइसके भने केही रिलिजको तयारीमा छन् । ‘म यस्तो गीत गाउँछु २, चपली हाइट ३, ए मेरो हजुर ४, लप्पन छप्पन २’ लगायतका फिल्म रिलिज भैसकेका छन् । ‘लक्का जवान’ रिलिजका लागि केही दिन मात्र बाँकी छ ।

तर, दर्शकले सर्वाधिक प्रतिक्षा गरेको फिल्म ‘प्रेमगीत ३’को निर्माणपक्ष भने मौन देखिएको छ । फिल्म निर्माण भएको ३ बर्ष भैसकेको छ । तर, सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ले नयाँ मिति सार्वजनिक गरेको छैन । फिल्म रिलिजको लागि लामो समय लाग्दा नायक प्रदीप खड्काको करिअरलाई पनि घाटा लागिरहेको छ । अर्कोतिर, यो फिल्मकी नव–नायिका कृष्टिना गुरुङको करिअर पनि अगाडि बढ्न पाएको छैन ।

स्वर्गिय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्ममा प्रदीप र कृष्टिनाको साथमा शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’को निर्माणपक्षले भारतमा समेत एकैदिन रिलिज गर्ने भन्दै नेपाल प्रदर्शन स्थगित गरेको थियो । दशैंसम्म अधिकांश फिल्मले मिति तय गर्दासम्म यो फिल्मका निर्माता मौन छन् ।