सौगातको हातमा फिल्म नै फिल्म, तर चल्दैनन्
नायक सौगात मल्लको व्यस्तता आजका दिनमा पनि उस्तै छ । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताको कमी नै छैन । सौगातसँग एक बर्षका लागि सेड्यूल प्याक छ । उनका केही फिल्म त रिलिजका लागि तयार नै छन् । सौगात मल्लमाथि निर्माताले आँखा चिम्लेर लगानी गरिरहेका छन् । तर, सौगातमाथि निर्माताले जती लगानी गरेपनि ती सबै बालुवामा पानी जस्तै भएका छन् ।
गतबर्ष सौगात अभिनित फिल्म ‘लप्पन छप्पन २’ले पानी भन्न पनि पाएन । फिल्म बक्स अफिसमा ध्वस्त भयो । सौगात मल्लको नाममा दर्शकले हलसम्म आएर फिल्म हेर्ने चेष्टा गरेनन् । यो बर्षको सुरुवात पनि सौगातका लागि कमजोर भयो । फिल्मीकर्मी, मिडियाकर्मीले उत्कृष्ट भनेको सौगात अभिनित फिल्म ‘मन्त्र’ले निर्मातालाई चुर्लुम्बै डुबायो । फिल्मले नेपालभरबाट निर्माताको गोजीमा १० लाख रुपैयाँ पनि फिर्ता नगर्ने पक्का छ । यस्तो अवस्थामा सौगातलाई दिएको पारिश्रमिक पनि निर्माताले उठाउन सकेनन् ।
सौगात मल्लको फिल्म आउँदा दर्शकमा कुनै चासो र प्रतिक्षा नै हुन छाडेको छ । ‘लुट र कबड्डी’को सिरिजलाई छाड्ने हो भने सौगातका अधिकांश फिल्म बक्स अफिसमा पत्तासाफ नै भएका छन् । तर, पनि निर्माता उनीमाथि किन भरोसा गरिरहेका छन् कुन्नी ? जेहोस्, निर्माताले पत्याएको बेलामा पैसा कमाइहालौं भन्ने सौगातको नीति त सफल भएको छ । तर, निर्माताको भने बिजोग नै भएको पाइन्छ ।
प्रतिक्रिया