सबै साउथ फिल्म कहाँ चल्छन् र नेपालमा ?
नेपालमा ‘पुष्पा, आरआरआर, केजीएफ २’ले बक्स अफिसमा सुनामी ल्याएपछि नेपाली फिल्मका मेकरलाई एउटा डर छ, अब साउथले सक्ने भयो । साउथ फिल्मको क्रेज नेपालमा ह्वात्तै बढेपछि नेपाली फिल्मका मेकरहरु अतालिन थालेका छन् । हुनत, साउथ फिल्मले बलिउड फिल्मलाई समेत चुनौती दिन थालिसकेको छ ।
तर, साउथका फिल्म भन्ने वित्तिकै डराउनुपर्ने अवस्था आएको हो त ? वैशाख १ गते ‘केजीएफ २’सँग भिड्दा पनि नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले सुखद व्यापार गर्यो । फिल्मको कमाई ६ करोड आसपास हुने देखिएको छ । विदेशी फिल्मले १८ करोडको वरिपरीको व्यापार गर्दा नेपाली फिल्मको व्यापार ६ करोडलाई सुखद मान्नुपर्छ ।
तर, अब ठूला साउथका फिल्म नेपालमा रिलिज हुने सेड्यूल यो बर्ष नै देखिएको छैन । फेरि, सबै साउथ फिल्म नेपालमा चल्छन् भन्ने पनि कहाँ छ र ? बक्स अफिसमा तहल्का नै मच्चाउला भनेर नेपाल भित्रिएको थलापति विजयको फिल्म ‘बीष्ट’ले नेपाली बक्स अफिसमा हावा खायो ।
यसअघि ‘खिलाडी, वालिमाई’ जस्ता फिल्म पनि भित्रिएका थिए, जसले पनि दर्शकको साथ पाएनन् । विजयकै ‘मास्टर’ पनि नेपालमा चलेन । एउटा कुरा ढुक्क के हुँदा हुन्छ भने, यश, रामचरण, जुनियर एनटीआर, अल्लु अर्जुुनका हरेक फिल्म नेपालमा चल्छन् भन्ने छैन । ठूलो हाइप बनाएका र मास स्केलमा तयार पारेका फिल्मले मात्र नेपालमा असर गर्न सक्छन् । तर, यसो भन्दै गर्दा अब नेपाली फिल्मका मेकर कमजोर फिल्म बनाएर दर्शकलाई अल्झाउन सकिन्छ भन्ने भ्रमबाट भने मुक्त हुनुपर्छ ।
प्रतिक्रिया