निर्देशकमाथि छायांकार हाबी भएको ‘मन्त्र’
नेपाली फिल्मले आफ्नै माटो र आफ्नै कथा भन्न नसकेको आरोप लागिरहन्छ । विदेशी आयातित कथामा जोड घटाउ गरेर फिल्म तयार गर्नमा धेरै मेकर अग्रसर देखिन्छन् । यही विचमा, आज शुक्रबारदेखि नेपाली फिल्म ‘मन्त्र’ रिलिज भएको छ, जसले हिमाली भेगको कथा भनेको छ ।
विविध कारणले गर्दा, हलमा रिलिज हुन समय लागेपनि फिल्म रिलिज भैसकेपछि भने दर्शक सन्तुष्ट हुन सक्ने प्रशस्त ठाउँ छन् । हिमाली भेगको रहनसहनमा निर्माण गरिएको यो फिल्मले दर्शकको मन छुन्छ । समुन्द्री सतह भन्दा ५१ सय मिटर माथिको उचाइमा रहेको मनास्लु हिमालको बेस क्याम्पमा खिचिएको खिलबहादुर गुरुङ निर्देशित फिल्मले कथालाई एउटै लयमा प्रस्तुत गरेको छ । फिल्ममा समावेश हाँस्य संवादहरु अर्गानिक लाग्छन् । कलाकार बुद्दि तामाङको अभिनय उत्कृष्ट छ । तर, उनलाई कथाकारले बिचबाटै गायब गरिदिदा दर्शकमा खल्लो महशुश हुन्छ । सौगात मल्लको अभिनय एउटै ग्राफमा अगाडि बढेको छ ।
फिल्ममा निर्देशक भन्दा छायांकार संजय लामा हाबी भएका छन् । उनले, कलाकारको अभिनय, उनीहरुको मुडलाई भन्दा पनि हिमाल कसरी राम्रो देखाउन सकिन्छ भन्नेमा बढी ध्यान दिएका छन् । संजयले जुन क्यानभासमा फिल्म खिचेका छन्, त्यो अनुसार साउन्ड छैन । जसले फिल्मलाई खल्लो सावित गरिदिएको छ ।
फिल्मको पहिलो हाफले दर्शकलाई बाँधेर राखेको छ । दोश्रो हाफ केही लामो हुँदा दर्शकलाई पट्यार लाग्न सक्छ । तर, पनि नेपाली फिल्म बजारमा एउटा मिठो लभ स्टोरी कथामा तयार भएको फिल्म ‘मन्त्र’ रिलिज भएको छ ।
सौगात मल्ल, वुद्दि तामाङ, दिया पुनको प्रेम कथालाई हिमालको काखै मुनीका रमणीय दृश्यमा हेर्न चाहने दर्शकका लागि ‘मन्त्र’ राम्रो फिल्म बन्न सक्छ ।
प्रतिक्रिया