स्वस्तिमाले सुवेदीको कटाक्ष विर्सिएकी हुन् त ?
नेपाली फिल्म क्षेत्रमा आज शत्रु जस्तो देखिएका फिल्मीकर्मी कतीबेला अंकमाल गर्न पुग्छन् भन्ने नै थाहा नहुने रहेछ । कुनै समय एक अर्काको अनुहार समेत हेर्न नसक्ने कलाकार एकसाथ अंकमाल गर्दै रमाएको देख्नुभयो भने अचम्म नमान्दा हुन्छ ।
नायिका स्वस्तिमा खड्काले लकडाउनको समयमा श्रीमान् निश्चल बस्नेतलाई बोकेर टिकटक बनाइन् । उनले बनाएको टिकटक संचारकर्मी प्रकाश सुवेदीका लागि खुराक बन्यो ।
नायिकाहरुको काम छैन, बुढो बोक्यो हिड्यो भन्दै उनले स्वस्तिमामाथि ब्यङ्ग्य कसे । स्वस्तिमा पनि के कम, बरु बुढो बोकिन्छ तर तिम्रा अन्तरवार्तामा आइदैन भन्दै स्टाटस लेखिन् । तर, नेपाली फिल्म क्षेत्र न हो । कुनै कुरा विर्सन कति समय लाग्छ र ? त्यसमाथि स्वस्तिमाको ‘चिसो मान्छे’ रिलिज हुने समय भएको छ ।
‘चपली हाइट ३’ बक्स अफिसमा पत्तासाफ भएपछि स्वस्तिमाका लागि यो फिल्म त चल्नैपर्छ । यसैले, मिडियाकर्मीसँग केको रिस राख्नु भनेर उनी प्रकाश सुवेदीको छोरीको बिहेको प्राइभेट पार्टीमा निश्चलसँग पुगिन् । उनीहरु, एक अर्कासँगै अंकमाल गर्दै कहिले केही भएकै थिएन जस्तो गरी मित्रवत देखिए ।
फिल्म क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि दुश्मनी लामो समय राख्नु ठिक होइन । तर, रोचक कुरा त के छ भने आफ्नै फिल्मको प्रमोशनमा समय नदिने, आफ्नै फिल्मको प्रेस शोहरुमा उपस्थित हुन नमान्ने स्वस्तिमालाई संचारकर्मी सुवेदीको छोरीको प्राइभेट पार्टीमा उपस्थित हुन भने न त पुरानै शितयुद्धले रोक्यो, न अन्य केहीले ।
जेहोस्, फिल्म क्षेत्रमा एक अर्काको फिल्म चल्दा पनि यस्तै खालको उपस्थिती र साथ देखियो भने गज्जब हुने थियो । तर, स्वार्थ नमिलेसम्म फिल्म क्षेत्रमा यस्तो उपस्थिती कहाँ देख्न पाइन्छ र ?
प्रतिक्रिया