सुहाना थापाले मागिन् माफी

अभिनेत्री सुहाना थापाले यौनिक अल्पसङ्ख्यकसँग माफी मागेकी छिन्।

सुहानाले सामाजिक सञ्जाल फेसबुक स्टोरीमा लामो चिठ्ठी लेख्दै यौनिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको बताएकी छिन् । उनले अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी हुन् । तीनै शृंखलाको उदाहरण दिँदै उनले गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्याउने वाचा गरेकी छिन् । ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ । सुहानाले संरक्षण गर्नुपर्ने समुदायप्रति यसरी प्रस्तुत भएकोमा खेद समेत व्यक्त गरेकी छन् ।

सुहानाले लेखेकी छिन्, ‘यौनिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहान्छु । यौनिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ,’ उनले भनेकी छन् ‘ यो कुरामा हामी चुकेका छौँ तर आगामी दिनमा सच्याउने वाचा गर्दछौँ ।’

‘ए मेरो हजुर’का तीनै शृंखलामा यौनिक अल्पसंख्यकले कथामा ठाउँ पाउँदै आएका छन् । तर पर्दामा देखिने यो समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । अभिनेत्री र फिल्मको निर्माताको रुपमा सुहानाले माफी मागेकी हुन् ।

फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । पछिल्लो सिरिजबाट दर्शकले अनमोल र सुहानाको जोडीलाई पर्दामा देख्दै आइरहेका छन् । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।